• जापान सरकारको निगरानीमा नम्रता र सुगमसँगै पारस खड्का

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १४ पुष २०७४, शुक्रबार

    विभिन्न सांगितिक कार्यक्रमको नाममा पर्यटक भिषामा जापान पुगेर अधिकांश कलाकारहरुले मोटो रकम लिएर स्वदेश फर्किने गरेको खुलासा भएसँगै जापान सरकारले यो प्रकारको कार्यक्रमहरु माथी निगरानी सुरु गरेको छ । जापानको अध्यागमन विभागले यो प्रकारको धन्दामा देश प्रवेश गर्ने जुनकुनै देशका कलाकारहरुमाथी सम्म निगरानी बढाउँदा यसको प्रभाव नेपाली कलाकारसम्म आइपुगेको छ ।

    पछिल्लो समयमा जापानीज अध्यागमन विभागले यस बारेमा मातहतका निकायलाई सचेत समेत गराइसकेको छ। यसमाथी केहि समय पहिलेदेखि जापानको अध्यागमनबाटै केहि कलाकार तथा राजनीतिज्ञ सम्मलाई फर्काइएको घटनालाई समेत यसै सिलसिलामा जोडेर हेर्न थालिएको छ। कलाकारलाई सम्मानका साथ विशेष प्रकारको भिषा प्रदान गरिँदै आएको भएपनि आफ्नो देशमा सम्वन्धित देशका कलाकारलाई पर्यटक बनाएर ल्याई कार्यक्रम गर्न थालेपछि जापान सरकारले यस बारेमा कडाइ शुरु गरेको हो ।

    कलाकार भिषा नै दिलाएर कलाकारलाई निमन्त्रणा गर्नुपर्ने नियमलाई अपहेलना गदै पर्यटक भिषा दिलाएर कार्यक्रम गर्न थालेको जानकारी आएपछि जापान अध्यागमनले यसबारेमा कडाई गर्न मातहतका निकायलाई निर्देशन दिएको बुझिएको छ। जापानमा सन २०१७ सम्मको एक तथ्याङ्क अनुसार पाँच सयको हाराहारीमा नेपाली कलाकारको नाममा प्रवेश गरेकाहरु शरणार्थी बन्न आवेदन दिएर बसेको पाइएपछि यो विषय उपर छानबिन गर्दा उल्लेखित अवस्था पाईएकोले कडाई गर्न लागिएको बुझिएको हो ।

    यो विषयमा जापान सरकारको निगरानीमा मुख्यतः कलाकारहरुको नाममा सम्मान सहित प्रदान गरिने भिषा प्रक्रियालाई बेवास्ता गर्दै पर्यटक भिषा प्रदान गरेर देश भित्र्याउने आयोजकहरु परेका छन् । केहि समय पहिले युवा नेता प्रदिप पौडेललाई जापान सरकारले टोकियो स्थित हानेदा विमानस्थलबाट नै नेपाल फर्काएको कुरालाई पनि यसैको निरन्तरताको रुपमा लिइएको छ । यस्तै पर्यटक भिषाकै प्रक्रिया अघि बढ्दा केहि समय पहिले निर्देशक तथा अभिनेत्री झरना थापा सहितको टिमलाई जापान सरकारले भिषा प्रदान नगरेको कुरालाई यसैसँग जोडेर हेरिएको छ ।

    यसैवीच जापानको नागोयामा आगामी जनवरी ६ तारिकखमा अभिनेत्री तथा मोडल नम्रता सापकोटा सहित गायक सुगम पोखरेल सहभागि हुने कार्यक्रम पनि जापान सरकारको निगरानीमा परेको खबर प्राप्त भएको छ । कलाकारलाई पर्यटक भिषामा ल्याएर कार्यक्रम गर्न लागिएको विषयमा खोजी समेत भएको छ । यो विषयमा सम्बन्धित आयोजकलाई जापान सरकारले स्पष्टिकरणको लागी प्रक्रिया समेत अघि बढाएको श्रोत बताउँछ । जसले कार्यक्रमको भविष्यमाथी पनि अन्यौलता थप्नसक्छ ।

    कलाकारलाई जापानमा भिषामा कडाई गरिरहेको अवसरमा पर्यटक बनाएर कार्यक्रममा सहभागि गर्ने तयारी गरिएको जानकारी पछि बढिरहेको निगरानीमा नम्रता र सुगमको कार्यक्रम पनि परेको हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका पारस खडका समेत सहभागि हुने कार्यक्रममा नम्रता र सुगमलाई पर्यटक बनाएर सहभागी गराउन लागिएको जापानबाट प्राप्त समाचारमा उल्लेख छ । उनीहरुसंगै अर्का गायक प्रयत्न श्रेष्ठलाई समेत आयोजकले सोहि भिषा दिलाएका छन् ।

    जापान सरकारको यो प्रकारको कदमले गति लिँदै गर्दा र कडाइ बढ्दै जाँदा भने त्यहाँ पुगेर सांगितिक कार्यक्रमको नाममा पैसा कलाउने गरि चल्दै आएको नेपाली कलाकारहरुलो धन्दा समेत चौपट हुने देखिन्छ । कलाकारले सम्बन्धित देशमा पुगेर आफ्नो देशका आप्रवासी नागरिकहरुमाथ कला प्रस्तुत गर्न छुट भएपनि पर्यटकको नाममा पुगेर रकम असुल्ने र त्यहाँ आयोजना हुने कार्यक्रमको लागी रकममै बोलकबोल गर्ने कुरासम्म पत्ता लागेपछि जापानिज सरकारले यो विषयमा निगरानी बढाएको प्राप्त समाचार श्रोत बताउँछ ।

     

    कुनै पनि देशले प्रदान गर्ने पर्यटक भिषा (भिजिट भिषा) भनेको सम्बन्धित देशमा जाने जो कोहिले पनि घुमघामको लागी जाने भिषा हो । यसमा पैसा आर्जन गर्ने भन्दा पनि पर्यटकको नाममा खर्च गर्ने कुरा जोडिन्छ । तर नेपाली कलाकारहरु भने विभिन्न देशमा पर्यटक भिषामा पुगेर त्यहाँ भिन्न भिन्न प्रकारका कार्यक्रम गर्दै उल्टो आयोजकको तर्फबाट किनमेल सहित मोटो रकम सम्म लिएर देश फर्किन्छन् । जुन कुरा जापानमा कानुनत बर्जित छ । कलाकारिता या यस्तै अन्य विभिन्न विधालाई जोडेर सोहि प्रकारको छुट्टा छुट्टै भिषा प्रायः देशले उपलब्ध गराउँदै आएका छन् । त्यसो त केहि समयदेखि नेपालमा समेत विभिन्न देशका नागरिक भिजिट भिषामा आएर अवैधानिक रुपमा काम गरेर बसेको भेटिएपछि सरकारले छानबिन अघि बढाइसकेको छ । सांभार

    फेसबुक प्रतिक्रिया