• जागिर (कथा)

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार

    – बुद्धिप्रसाद सुवेदी
    “के रे ? त्यै भत्ता पनि कटायो रे ?” अभावग्रसित आँखा तन्काउँदै भावनाले आक्रोश पोखी । धुलाम्य कपडाले बेरिएको थकित शरिरलाई साघुँरो कोठाको खुईलिएको कुर्चिमाथी थेचार्यो दानवीरले । विहानै एक गास भात टिपेर गएको उ दिनभर धुलाम्य खेतमा जोतिएको गोरुजस्तो भएर आएको थियो । स्थिर ।

    “महगीँ बढ्यो रे, अव अर्को मैनाबाट भाडा बडाउनी कुरा अर्दैथे घरबेटी दाई” भावनाको बोलीले झस्कियो दानवीर, वोल्नपनि सकस परिरहेको छ उसलाई । लाग्छ गरिबी र थकानको पीडाले हताश भएको छ उ । “त्यसलाई मात्र बढ्नी रैछ महगीँ ?” रोक्कियो दानवीर । तन्किएँ आँखा, सन्कियो दिमाग । निक्कै संकटग्रस्त अवस्थामा पायो उसले आफूलाई । न समाउने लौरो छ न टेक्ने हाँगो, ‘जागिर’ भनेको ‘‘जा’ ‘गिर’ हो जस्तै लागिरहेको छ उसलाई ।

    “बाबा हजुरलाई सरले दिनुभएको चिठी” सात बर्षीय छोरा रितेशले दिएको कागजको टुक्रा समाएर हेर्छ, फेरी सुरु हुन्छ उसको मौनता, सायद विवशताले छुट्टै खालको मौनतालाई निम्त्याउँदोरहेछ । यो शैक्षिक सत्रबाट स्कुलको फी बढाउने जानकारी सहितको पत्रले उ फेरि निशब्द भएको थियो । काठमाण्डौँको भिडमा आफूलाई एक्लै उभिएको पाउँछ दानवीर, एउटी श्रीमती र छोराको सामान्य आवश्यकताका अगाडी पनि निरीह पाउँछ आफूलाई । दिनभरी धुलो र धुँवा सँग सिगौँरी खेल्दापनि सामान्य जीवनयापन गर्न गाह्रो भइरहेको छ उसलाई ।

    “सर नमस्कार हजुर, म दानवीर कोइराला नितेशको बुवा” “ए हजुर, एकदम ज्ञानी छ हजुरको बच्चा, पढाइमा पनि अब्बल” “ए, म त कैल्यै आउन नी नभ्याउनी स्कूलतिर, अनि सरहरुले फी बढाउने कुरा गर्नुभा रैछ, मलाई त गाह्रो पर्नेभयो हेर्दिनुपर्यो सर” “ए, के गर्नुहुन्छ र हजुरले ?” “म नेपाल प्रहरीमा सेवा गर्छु सर, ट्राफिक प्रहरी जवानको रुपमा कार्यरत छु” “ओहो ! सरकारी जागिरे पो हुनुहुँदो रैछ, त्यो पनि ट्राफिकमा, ठट्टा नगर्नुस न सर ।”झनक्क रिस उठ्छ दानवीरलाई, हेपेर बोलेको अनुभूती हुन्छ, केहि नबोलिकन फनक्क फर्केर हिँड्छ, निराशा अनि रिस मिमिएको मुद्रामा ।

    विवशताले बाँधेको छ दानवीरलाई, जागीरले दानवीर हैन भिखबहादुर बनाएको जस्तो । आफूले राम्रो शिक्षा नपाउँदा प्रगति गर्न नसकेको ठानेर छोरालाई ज्यान फालेरै भएपनि राम्रोसँग पठाउने उसको सपना डगमगाउन थालेको छ । न त परिवारलाई गाउँमा राखेर उचित शिक्षा दिन सक्ने अवस्था छ न त यहाँ राख्न सक्ने अवस्थामा छ वडो असमञ्जसमा परेको छ दानविर । सोच्छ, “कि त मलाई मेरै घर भएको ठाउँमा जागिर खाने व्यवस्था मिलाउनुप¥यो, कि त जागिर खाने ठाउँमा परिवारसँग बस्नसक्ने सुविधा त दिनुपर्यो नि । ”

    “कति धुनु यो लुगापनि, दिन्कै” दानवीरको कार्यालय पोशाक पखाल्दै मुर्मुरिन्छे भावना । “बरु कालिकोटै ठिक थ्यो ।” तीन बर्षसम्म कालिकोट बसेपछी छोरालाई राम्रो स्कूलमा पढाउने एकमात्र सपना बोकेर बडो मुस्किलले काठमाण्डौँ छिरेको थियो दानवीर । र त्यहि सपनाले थिचिरहेको थियो उसलाई दिनप्रतिदिन, उठ्नै गाह्रो हुनेगरी । कहिलेकाँही त जागिर–सागिर छोडेर विदेशिने बारेमा सोच्छ, तर त्यहाँ परिवारसँग छुट्टिएर बस्नुपर्ने बाध्यता र पेन्सनको मायाले बाँधिएको छ । केवल एउटा सपना पूरा गर्नका लागि दिनभर धुलो धुवाँसँग कुस्ति खेलिरहेको छ दानवीर, परिवारको भविष्य बनाउनका लागि आफ्नो भविष्यलाई धुलाम्य बनाइरहेको छ, काठमाण्डौँ जस्तै । यहाँको झिलिमिलीसँग उसलाई कुनै मतलव छैन, केवल एउटा साँघुरो कोठाबाट कोरेको फराकिलो भविष्यको सुन्दर सपना सजाइरहेको छ बस् ।

    विहानको ६ बजेको छ । रातभर सुतेको काठमाण्डौँ विस्तारै उठिरहेको छ, जसरी धुलो र धुवाँले बायुमण्डललाई नै आफ्नो कब्जामा लिइरहेका छन् । विहानी कलेज जानेहरु हतारिरहेका छन, तरकारी वेच्नेहरु उस्तै हतारमा छन् । मर्निङ्कवाकवालाहरु त सडक भन्दा ट्रेडमिलमै रमाउन थाले आजकल । अरुभन्दा अलिक बढि हतार गाडीवालाहरुलाई छ, अरुको बारेमा सोच्न भन्दा मान्छे कोच्न नै भ्याइनभ्याई छ उनीहरुलाई ।

    सवै दृश्यलाई नियाल्दै बल्खु चोकमा उभिएको छ दानविर । बुढिले धोइधाइ पारेर चम्किएको आकाशे रङ्गको सर्ट, सर्लक्क आइरन बसेको निलो पाइन्ट, सेतो टोपी, सेतै वेल्ड, सेतै पञ्जा । घाँटीमा झुण्डिएको निलो टाई अनि टलक्क टल्किएको जुत्ता । काठमाण्डौँभन्दा निकै सुन्दर देखिएको छ दानविर । तर त्यो सुन्दरता कहाँ धेरैबेर टिक्न सक्छ र ? एकछिनमा काठमाण्डौँले आफुभन्दा कुरुप बनाइदिन्छ दानविरलाई । तर उसलाई कुनै प्रवाह छैन, केवल एउटा माक्सको सहारामा अनवरत हात हल्लाइरहेको छ, दिनभर सवारीसाधन तान्न र फाल्नकै चटारो हुन्छ उसलाई । सोच्छ, ओहो ! म एकछिन यो चोकमा बसिन भने के होला ? सायद यो दुनियाँमा विरलै प्राणी होलान् जो अरुको ज्यान बचाएर आफ्नो आयु घटाउन लागिपर्छ, विनास्वार्थ । दानवीरजस्तै ।

    रातको ११ बजे । वाहिर साउने झरी परिरहेको छ । मिठो निन्द्राको मजा लिइरहेको छोराको टाउको मुसारिरहेको छ दानवीर, भावनाले दानवीरको कुममा टाउको टेकाएर बसेकी छ । खै के सोचेर हो मौन छन दुवैजना । निशब्द । मौसमले शितलता प्रदान गर्ने प्रयास गरेको भएपनि दानवीर र भावनाको मन भने अभावको वेदनाले बलिरहेको छ, जलिरहेको छ । अनि लाग्छ झरी र उनीहरुको मनमा पनि केहि समानता छ दुवै झरीरहेका छन । एकोहोरो । “यस्तै अवस्थाले जीन्दगी चल्ला त हजुर ?” सास मिसिएको तर आश नमिसिएको मसिनो आवाजले मौनतालाई तोड्ने प्रयास गर्छे भावना । ओहो ! कस्तो अप्ठ्यारो प्रश्न ? अनुत्तरित हुन्छ दानवीर । टोलाईरहन्छ । छोराको निधार हेर्छ कतै यसको निधारमा पनि मेरैजस्तो भाग्य त लेखिएको छैन ?

    जागीरमा छनौट हुँदा कम्ति खुसी भएको थियो दानवीर ? गाउँमा सवैले विग्रिन लागेको मान्छे सप्रिने भयो भनेर स्याबासी र बधाई दिएका थिए । सँगैका साथीहरु बेरोजगार हुँदा जागीर पाएको थियो दानवीरले, त्यो पनि सरकारी । खुसीले भुईँमा खुट्टै थिएन । तर तेतिवेलाका वेरोजगार साथीहरु अहिले खाडी गएरै आफूले भन्दा धेरै प्रगती गरेको जस्तो लाग्छ उसलाई । परिवारसँगै बस्न नपाएपनि आफूले जस्तो अभावको जीन्दगी उनीहरुले महसुस गर्न नपरेको भान हुन्छ । मान्छेलाई आफूसँग जे छैन त्यै राम्रो । अर्कैको जीन्दगी राम्रो ।

    दानवीर देशको सेवा गर्न भन्दापनि जागिरका लागि पुलिसमा भर्ति भएको थियो । तर बाल्यकालदेखि नै जोडिएको अभावले उसँग कहिल्यै छुट्टिनै मानेन । काठमाण्डौँको सडकको धुलो जस्तै कहिल्यै नसकिने अभाव जोडिएको थियो उसको जीवनमा । तनाव । मन बुझाउनका लागि आफूभन्दा दुःखीहरुलाई हेर्नु भन्छन् तर खै के भएको सवैको भीडमा आफैँलाई बढि दुःखी देख्छ दानवीर, सायद मानवीय स्वभाव नै यस्तै होला । कामप्रतिको लगाव र समर्पणले प्राप्त गरेको परमानन्द पनि पुरा हुन नसकेको सामान्य आवश्यकताको अगाडी निरीह भएर झुक्दोरहेछ । पेशाप्रतिको आत्मसन्तुष्टिले परिवारलाई सन्तुष्टि दिन भने नसक्दोरहेछ । अचम्म ।

    रेडियोले बजेट भाषणको लाइभ प्रसारण गरिरहेको छ । भावना व्यस्त छ रेडियो सुन्न । सरकारी कर्मचारीको तलव बढाउने हल्ला जो चलेको थियो । मन्त्रीज्यूको भाषणमा खासै वास्ता नराख्ने भावना आजभने एक एक शब्द उत्साहपूर्वक सुनिरहेकी थिई । कति शक्तिशाली भाषण । एकाएक भावनाको अनुहारमा चमक आउन थाल्छ, निकै लामो समयपछी मिठो मुस्कानले प्रवेश पाउँछ उसको चेहरामा । श्रीमानको तलब बढेको खुसी उसलाई नै बढि थियो । आवश्यकता र तलव विचको कचिङ्गलमा तलबलाई जिताएर सुखी र खुसी जीवन व्यतित गर्ने अभिलाषा पुरा हुँदै थियो सायद । बर्षौँदेखि नदेखेको आफ्नी भावनाको मुस्कान सकिन नपाउँदै दानवीरको निन्द्रा भने सकिएछ जुरुक्क उठ्यो । हत्तेरी । खुसीपनि कति छोटो समयको लागि आएको । आखिर सपना भनेको सपनै त हुने रैछ । यसो हेर्छ छोरो छिट्टै उठेर पढिरहेको रहेछ । धक्क फुलेर आउँछ दानवीरको मन । छोरालाई अँगालोमा लिन्छ । “मेरो हिरो ठूलो भएर के हुने रे ?” “पुलिस ।” बिलखबन्द भयो दानवीर । बडो असमञ्जसमा प¥यो । टोलाइरह्यो । उता धुलाम्य लुगा पखाल्दै गरेकी भावना रसाएका आँखाले छोरालाई हेरिरहेकी थिई ।

    फेसबुक प्रतिक्रिया