• पोखरासँगको रोमाञ्चक खेलमा एक्स्पर्ट धनगढी ब्लुजको जित

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार

    पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढी ब्लुजले तेस्रो जित हात पारेको छ । पोखरा रंगशालामा भएको खेलमा पोखरा पल्टनले दिएको १४५ रनको लक्ष्य एक बल बाँकी रहँदा धनगढीले लक्ष्य पूरा गर्यो ।
    धनगढीको जितका लागि नायक बनेका दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । धनगढीले २ विकेटले जित हात पारेको छ । दबाबमा रहेको धनगढीले आठौं विकेट गुमाइसक्दा क्रिजमा थिए दीपेन्द्रसिंह ऐरी र रोविन क्षेत्री । जितका लागि धनगढीलाई १८ बलमा ३४ रन चाहिएको थियो । १८ औं ओभरमा कप्तानले एक छक्का र एक रन बनाए भने १९ औं ओभरमा २ छक्का प्रहार गरेपछि धनगढीलाई जितका लागि अन्तिम ओभरमा १४ रनको आवश्यकता थियो ।
    जितका लागि कप्तान ऐरीले २६ बल खेलेर ४ चौका र ६ छक्कासहित ४९ रन बनाए ।
    अन्तिम ओभर बलिङमा आएका मेहबुब आलमले पहिलोमा एक वाइड रन दिए भने त्यसपछि पहिलो बलमा दीपेन्द्रले छक्का प्रहार गरे । दोस्रो बलमा २ रन लिएर तेस्रो बल डट रहेपनि चौथो र पाँचौं बलमा लगातार २ चौका प्रहार गर्दै धनगढीले रोमाञ्चक जित निकाल्यो ।
    त्यसअघि एक्स्पर्ट धनगढीका ओपनिङ ब्याट्सम्यान दीलिप नाथ ४ रनमा आउट भएपछि मैदान प्रवेश गरेका पिटर ट्रेगोले धनगढीको कमजोर देखिएको ब्याटिङलाई अर्धशतकीय पारी खेल्दै लयमा ल्याए । उनले ३४ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा ५३ रन बनाएका थिए भने अर्का ओपनिङ ब्याट्सम्यान सुुबन्धुु पाण्डेय २२ रनमा आउट भए । ड्यानीयल लरेन्स १३ रनमा आउट भएका थिए ।
    जितका लागि ५० रन बाँकी रहँदा क्रिजमा थिए एक्स्पर्ट धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरा । बलिङमा थिए पोखरा पल्टनका ललितनारायण राजवंशी । १३ औं ओभरको ५ बलमा ७ रन खर्चेका राजवंशीले अन्तिम बलमा धनगढीका ब्याट्सम्यान जोरालाई ९ रनमा पवेलियन फर्काएपछि मैदान प्रवेश गरेका सौरभ खनाल ३, मञ्जित श्रेष्ठ १ तथा कमलसिंह ऐरी खाता नखोली पवेलियन फर्किएपछि धनगढी दबाबमा रह्यो ।
    त्यस्तै, धनगढीविरुद्ध पोखराका राशिद खानले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ४ विकेट लिएका थिए । त्यस्तै, ललितनारायण राजवंशी र विक्रम भुुषालले समान २—२ विकेट लिएका थिए ।
    यसअघि पहिलो इनिङ्समा टस जितेर ब्याटिङ रोजेको पोखरा पल्टनले एक्स्पर्ट धनगढीलाई १४५ रनको लक्ष्य दिएको थियो । पोखरा रंगशालामा भएको खेलमा धनगढीका बलर सामु कमजोर देखिएको पोखराको ब्याटिङ लाइनलाई माथि उकासेका रोहित कुुमार पौडेललाई धनगढीका ड्यानीयल लरेन्सले एलवीडब्लुु धराप पारेका थिए ।
    २० ओभर पूरा खेलेको पोखरा पल्टनले ८ विकेट गुमाएर १४४ रन बनाउने क्रममा रोहित कुुमार पौडेलले सर्वाधिक ३१ रन बनाउने क्रममा ४ चौका र १ छक्का प्रहार गरेका थिए । ओपनिङ ब्याट्सम्यान कुुशल भुुर्तेल १ रनमा आउट भएपछि तेस्रो स्थामा मैदान छिरेका रवि इन्दर सिंह छोटो योगफलमा पवेलियन फर्किएका थिए ।
    पोखराका लागि २८ रन बनाएर खेलिरहेका रविइन्दर सिंहको महत्वपूर्ण विकेट धनगढीका कमलसिंह ऐरीले लिएपछि पोखरालाई दबाब बढेको थियो । चौथो स्थानमा मैदान छिरेका मेहबुब आलम रन खाता खोल्न नपाउँदै पवेलियन फर्किएका थिए ।
    चौथो विकेटका रुपमा पोखराका टिकेर खेलिरहेका ओपनिङ ब्याट्सम्यान आसिफ शेख २३ रन बनाएर आउट भएपछि दबाबमा देखिएको पोखराका कप्तान शरद भेषवाकरले रोविन क्षेत्रीको बलमा प्रहार गरेको सट सन्दीप जोराले क्याच गरेपछि १४ रनमा पवेलियन फर्किए । त्यस्तै, राशिद खानले १५ रन बनाए भने मोहमद नाभेद ११ रनमा आउट भए ।
    पोखरालाई १४४ रनको सामान्य योगफलमा रोक्न धनगढीका पेश बलर कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभर पूरा बलिङ गर्दै १ ओभर मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिएका हुुन् । अर्का बलर पिटर ट्रगोले ४ ओभर बलिङ गर्दै ११ रन खर्चेर १ विकेट लिएका थिए भने रोविन क्षेत्री, पिटर ट्रेगो, ड्यानीयल लरेन्सले समान एक—एक विकेट लिएका थिए ।
    जितसँगै धनगढीले अंक तालिकाको शीर्ष स्थाामा उक्लिएको छ । धनगढीले ६ अंक जोड्दा पोखरा पल्टनको ४ अंक रहेको छ ।

    फेसबुक प्रतिक्रिया