• विश्वकप क्रिकेटः न्यूजिल्याण्ड पुुग्यो फाइनलमा भारत १८ रनले पराजित

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २६ असार २०७६, बिहीबार

    यूजिल्यान्ड एकदिवशीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ । म्यान्चेस्टरको ओल्ड ट्राफोड मैदानमा भएकोखेलमा भारत १८ रनले पराजित भयो । दुईपटकको च्याम्पियन भारतले लिग चरणमा एक खेलमात्र हारेको थियो । भारत अंक तालिकाको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । भारत कम्जोर ब्याटिङका कारण पराजित हुनु पर्यो ।

    उपाधिका लागि न्यूजिल्यान्डले इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ । यो हारसँगै विश्वकपकै मुख्य दावेदारमध्येको एक भारतको यात्रा सेमिफाइनलमै समाप्त भएको छ । अघिल्लो संस्करणमा पनि भारत फाइनल पुग्न असफल भएको थियो। न्यूजिल्यान्ड भने फाइनलमा चीर प्रतिद्वन्द्वी अस्ट्रेलियासँग पराजित भएको थियो।

    २ सय ४० रनको लक्ष्य पछ्याएको भारतको शीर्ष क्रम ध्वस्त हुँदा इनिङ्सको ३ बल बाँकी छँदै २ सय २१ रनमा अलआउट भयो । पछिल्लो खेलमा सतक प्रहार गरेका भारतीय ओपनरहरु लोकेस राहुल र रोहित शर्मा समान १ रनमै आउट भएका थिए। कप्तान विराट कोहलीले पनि १ रनमात्र बनाउन सके । दिनेश कार्तिक ६ रन बनाएर आउट हुँदा १० ओभरमा भारत २४–४ को स्थितिमा पगेको थियो।

    ऋषभ पन्त र हार्दीक पन्ड्याले ४७ रनको साझेदारी गरी इनिङ्स उकास्ने प्रयास गरे पनि २२.५ ओभरमा पन्त र ३०.३ ओभरमा पन्ड्या समान ३२ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि भारत ९२–६ को दयनीय अवस्थामा पुगेको थियो ।

    सातौं विकेटका लागि पूर्व कप्तान महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले १ सय १६ रनको साझेदारी गरी भारतलाई जितको आशा देखाएका थिए। भारतलाई जितका लागि ३२ रन आवश्यक हुँदा ७७ रन बनाएर खेलिरहेका जडेजा ट्रेन्ट बोल्टको बलमा लङ अफ क्षेत्रमा कप्तान केन विलियमसनको हातबाट क्याचआउट भए ।

    जडेजाले ४ चौका र ४ छक्का प्रहार गरे। अर्को ओभरमा धोनी पनि रनआउटको शिकार बनेपछि भारतको आशा समाप्त भयो। लोकी फर्गुसनको बलमा २ रन लिने प्रयासमा रहेका धोनीलाई मार्टिन गुप्टिलले रनआउट गरेका थिए।

    अन्तिम क्रमका ३ ब्याट्सम्यान सस्तैमा आउट भए। न्यूजिल्यान्डका म्याट हेनरीले शीर्ष क्रमका ३ ब्याट्सम्यानलाई आउट गरेपछि भारत मध्यम लक्ष्य पछ्याउन असमर्थ रहेको हो। ट्रेन्ट बोल्ड र मिचेल सान्टनरले पनि २र२ विकेट लिए।

    वर्षाका कारण २ दिन लगाएर खेलिएको खेलमा टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले मंगलबार ४६.१ ओभरमा २ सय ११ रन बनाएको थियो। म्यान्चेस्टरमा वर्षा नरोकिएपछि बुधबार बाँकी खेल खेलाइएको हो ।

    न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३९ रनको योगफल खडा गरेको थियो । न्यूजिल्यान्डका मध्यक्रमका ब्याट्सम्यान कप्तान केन विलियमसन ६७ र रस टेलरले ७४ रन बनाएका थिए । भारतका भूवनेश्वर कुमारले ३ विकेट लिए ।

    फेसबुक प्रतिक्रिया