• नेपाले आजबाट मलेसियासँग २ म्याचको टी–२० सिरिज खेल्दै

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २८ असार २०७६, शनिबार

    काठमाडौं। ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजबाट मलेसियासँग २ म्याचको टी–२० सिरिज खेल्दैछ ।

    उसैको घरेलु मैदानमा हुने सिरिजलाई नेपालले सिंगापुरमा अर्को साताबाट सुरु हुने आईसीसी टी–ट्वान्टी विश्वकपको एसियाली छनोटको अभ्यासका रुपमा लिएको छ । कमजोर प्रतिद्धन्दी मलेसियासँगको २ म्याचको श्रृंखला अन्तर्गतको पहिलो खेल क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान पौने ८ बजे सुरु हुनेछ ।   

    नेपाल र मलेसियाबीच पहिलोपटक हुन लागेको ट्वान्टी–२० सिरिजमा आज राष्ट्रिय टोलीका कप्तान पारस खड्काले ओपनिङ गर्ने भएका छन् । मलेसियासँगको सिरिजलाई क्लिन स्विप गर्दै एसियाली छनोटमा उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा रहेको नेपाल, पहिलो खेलबाटै शानदार जितको योजनामा हुनेछ ।

    टी–२० क्रिकेटमा मलेसियासँग भएका यसअघिका ४ भेट मध्ये ३ खेलमा जित हात पारेको आंकडाले पनि नेपाल बलियो देखिएको छ । दोस्रो खेल भने सोही मैदानमा भोलि हुनेछ । २ खेलको सिरिज सकेर केही दिनको मलेसिया अभ्यासपछि नेपाली टोली उतैबाट सिंगापुर जानेछ ।

    जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुने एसियाली छनोटमा नेपालसहित सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । जुलाई २३ मा कतारसंग प्रतिस्पर्धा गर्दै नेपालले एसियाली छनोटको सुरुवात गर्नेछ ।

    फेसबुक प्रतिक्रिया