• लोकसेवाको विज्ञापनविरुद्ध काठमाडौंमा बृहत् प्रदर्शनको तयारी

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार

    लोकसेवा आयोगको विज्ञापनविरुद्ध आन्दोलनरत विभिन्न समुदायले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन तथा सभा गर्ने भएका छन् ।  आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अपांगता भएकाहरुको संघसंस्थाको अगुवाइमा विरोध प्रदर्शन तथा सभा हुने भएको हो । 

    नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका उनीहरुले मंगलबार काठमाडौंका विभिन्न ठाउँबाट बिहान ११ बजे प्रदर्शन निकाल्ने तयारी गरेका छन् । बानेश्वर, थापाथली, भृकुटीमण्डपमा प्रदर्शन गरी माइतीघर मण्डलामा बृहत् सभा हुने नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले जानकारी दिए । 

    स्थानीय तहका कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनमा समावेशी कोटा खारेज गरिएको भन्दै विभिन्न समुदाय संवद्ध ‘आरक्षण बचाऔँ आन्दोलन समिति’ले विरोधका कार्यक्रम गर्दै आएको छ । 

    विरोधका बाबजुद पनि सर्वोच्च अदालतमा परेको रिट सुनुवाइको क्रममा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेपछि कर्मचारीको भर्नाको प्रकृया अगाडि बढेको छ । आन्दोलनरत पक्षले भने सो विज्ञापन खारेज गर्नुपर्ने माग गर्दै आगामी साउन २ र १० गते दुई दिन नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको छ ।

    फेसबुक प्रतिक्रिया