• ओखलढुङ्गा: सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १२ श्रावण २०७६, आईतवार

    ओखलढुङ्गा- सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ ।

    ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारका लागि सहयोग गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

    साहाराविहीन भएकाहरुलाई समेट्ने लक्ष्यअनुरुप एकल महिला लक्षित कार्यक्रम ल्याएको उनको भनाइ छ । ‘अधिकांश एकल महिलाको समाजमा बिजोग भएको स्थिति देखेको छु’, अध्यक्ष अधिकारीले भने, ‘वर्षमा पाँच हजार मात्रै हामीले दिँदा पनि सामान्य रोगको उपचार गर्न पुग्ने रहेछ । एकल महिलालाई मात्रै होइन जटिल प्रकृतिका रोग लागेकाहरुलाई थप सहयोग गर्ने पनि हाम्रो नीति छ ।’

    एकल महिलाले फेरि विवाह गरेमा खर्च पाउने छैनन् । सुनकोशीले गत वर्षदेखि नै ज्येष्ठ नागरिक, दलित र अपाङ्गता भएका व्यक्तिलाई लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । उपचार खर्च दिने गाउँपालिकाको नीतिले सुनकोशीका एकल महिला खुशी भएका छन् ।

    फेसबुक प्रतिक्रिया