• लियोनल मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार

    अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । उनीमाथि तीन महिनासम्म अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो ।

    क्लब प्रतिस्पर्धामा भने उनी सहभागी हुन पाउने छन् । गएको महिना ब्राजिलमा सम्पन्न भएको कोपा अमेरिका फुटबलको क्रममा मेस्सीले दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय (कोनमेबोल) ले आयोजना गरेको कोपा अमेरिका फुटबल भ्रष्ट रहेको बताएका थिए । सोही टिप्पणीका कारण मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको हो ।

    बार्सिलोनाका ३२ वर्षे कप्तान मेस्सीले कोपा अमेरिकाको तेस्रो स्थानका लागि चिलेसँगको भएको खेलको क्रममा रातो कार्ड पाएका थिए । सो खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो । उनले सो खेलपछि कोपा अमेरिका आयोजकहरु भ्रष्ट रहेको र कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि ‘फिक्स’ गरेको आरोप लगाएका थिए ।

    मेस्सीले ५० हजार अमेरिकी डलर जरिवाना तिर्नु पर्ने निर्णय पनि कोनमेबोलले गरेको छ । कोनमेबोलको निर्णय विरुद्ध मेस्सीले अपिल गर्न पाउने छन्, त्यसका लागि सात दिनको समय दिइएको छ ।

    तीन महिने प्रतिबन्धविरुद्धको अपिल खारेज भएमा आउँदो सेप्टेम्बर र अक्टोबरमा हुने चिले, मेक्सिको र जर्मनीसँगको मैत्रीपूर्ण खेलमा मेस्सी अर्जेन्टिनाको टिममा हुने छैनन् । सन् २०२२ को कतार विश्वकपमा लागि अर्जेन्टिनाको छनौट खेल सन् २०२० को मार्चदेखि सुरु हुनेछ।

    फेसबुक प्रतिक्रिया