• ट्रम्पद्वारा गोरा जातिको वर्चस्वको आलोचना

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलवार

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा अमेरिकामा बढ्दै गएको देखिएको घृणा र ‘ह्वाइट सुप्रिमेसी’ अर्थात् गोरा जातिको वर्चस्वको आलोचना गरेका छन् ।

    टेक्सास र ओहायोमा भएका दुई वटा सामूहिक गोली काण्डमा कम्तिमा ३१ जनाको मृत्यु भएपछिको अवस्थाबारे सार्वजनिक सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यस्ता घटनाको निन्दा गरेका हुन् । दुवै घटनामा गोली प्रहार गर्ने व्यक्ति गोरा जातिका हुन् । ट्रम्पले अमेरिकामा रंगभेद, कट्टरता र ह्वाइट सुप्रिमेसीका लागि स्थान नरहेको बताए पनि उनीमाथि नै रंगभेदको आरोप लाग्दै आएको छ ।

    उनले सिनेटका सदस्य ल्याटिन तथा अफ्रिकी मुलक नेतालाई लक्षित गरी केही समयअघि मात्रै रंगभेदी टिप्पणी गरेका थिए । त्यसको तीव्र आलोचना हुँदै आएको छ । राष्ट्रपति ट्रम्पले मानसिक स्वास्थ्य र बन्दुक नियन्त्रणसम्बन्धी हाल कायम रहेको व्यवस्थालाई एकीकृत रुपमा परिमार्जन गर्नुपर्नेसमेत बताए ।

    सार्वजनिक स्थानमा अन्धाधुन्ध गोली चलाउनेलाई मृत्युदण्ड दिनुपर्ने उनको भनाइ थियो । राष्ट्रपति ट्रम्पले बन्दुकसम्बन्धी कानुन परिमार्जनका लागि एक हुन सबैलाई आह्वानसमेत गरे । अमेरिकामा सार्वजनिक स्थानमा हुने गोलीकाण्ड बढ्दै गएका बेला बन्दुकसम्बन्धी कानुन अति कडा बनाउनुपर्ने र अनुमतिको प्रक्रियामा कडाइ गर्ने खालको कानुन बनाउनुपर्ने माग हुँदै आएको छ ।

    डेमोक्य्राटिक पार्टीका नेताले त्यसको वकालतमा साथ दिएका छन् । तर राष्ट्रपति ट्रम्प भने बन्दुकसम्बन्धी कानुन धेरै कडा बनाउने पक्षमा देखिनुभएको छैन । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै ट्रम्पले मानसिक बिरामी र घृणाले आमहत्याका लागि उक्साउने गरेको बताए । उनले कंग्रेसमा पेश भएको बन्दूक नियन्त्रणसम्बन्धी प्रस्तावको समर्थन भने गरेका छैनन् ।

    फेसबुक प्रतिक्रिया