• रवि लामिछानेलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार

    पत्रकार रवि लामिछानेसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो ।

    प्रहरीले आजै लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा हिजो बेलुका पक्राउ परेका  लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिएको थियो ।

    पुडासैनीले साउन २० गते चितवनमा आत्महत्या गरेका थिए। नुवाकोटका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    यस्तै पत्रकार लामिछाने र कँडेललाई टेलिभिजनको कार्यालयबाट गरिएको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानले आपत्ति जनाएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत लगाइएको आरोपमा प्रहरीले सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर सञ्चारगृहको कार्यालय परिसरभित्रै प्रवेश गरी नियन्त्रणमा लिएको प्रति प्रतिष्ठानले आपत्ति जनाएको हो ।

    कार्यवहाक अध्यक्ष प्रदीपराज दाहालद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरित पत्रकारद्वयलाई नियन्त्रणमा लिइएको भनिएको छ ।

    फेसबुक प्रतिक्रिया