• प्रधानमन्त्रीको भिडियो कन्फरेन्स-चटक धेरै, निर्णय शून्य

    नेपालपथ संवाददाता
    प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार

    गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा ‘भिडियो कन्फरेन्स’बाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट सहभागिता जनाएका थिए तर बैठकले कुनै निर्णय गरेन । प्रधानमन्त्री ओली उपचारार्थ सिंगापुर जानुभन्दा अगाडि बसेको मन्त्रिपरिषद् बैठकले आगामी बैठक भिडियो कन्फरेन्सबाट गर्न मिल्ने निर्णय गरेको थियो ।

    स्रोतका अनुसार सरकारले भिडियो कन्फरेन्स बैठकबाट जरुरी निर्णय गर्ने तयारी गरेको थियो । निर्णय विवादास्पद हुने देखेपछि अन्तिम समयमा कुनै निर्णय भएन ।सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीवार बिहान ट्विट गर्दै अस्तिको बैठकमा कुनै पनि निर्णय नभएको जानकारी दिएका छन् ।

    बैठकले कुनै निर्णय नगर्ने भएपछि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई काठमाडौंबाट मन्त्रीहरूले स्वास्थ्य लाभको शुभकामना मात्र दिए । ओलीले पनि आफ्नो स्वास्थ्य स्थितिबारे मन्त्रीलाई जानकारी दिँदै मन्त्रालयका दैनिक काममा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।

    भिडियो कन्फरेन्सबाट भएको मन्त्रिपरिषद्को बैठक विवादित बन्यो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले सार्वजनिक रूपमा नै बैठकको आलोचना गरेका थिए ।

    सुदूरपश्चिम इञ्चार्ज रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्टिले गलत भएको टिप्पणी गरे । बुधवार नेकपाको धनगढीमा आयोजित कार्यक्रममा बोल्दै देशमा कुनै किसिमको आपतकालीन स्थिति नभएको भन्दै रावलले यो काम विवादास्पद भएको बताएका थिए ।

    तर सूचना प्रविधि विज्ञका रूपमा प्रधानमन्त्रीको सचिवालयमा रहेका अस्गर अलीले भने भिडियो कन्फरेन्स सुरक्षित रहेको दाबी गरेका थिए ।

    ‘टेलिप्रिजेन्समार्फत गरिएको ऐतिहासिक मन्त्रिपरिषद् बैठकमा हामीले हाम्रो र प्रधानमन्त्रीज्यूको बीचमा सम्पर्क स्थापित गर्न भर्चुअल प्राइभेट नेटवर्क प्रयोग गरेका छौं,’ उनले भने, ‘ट्रान्सफर भएको सूचना इन्क्रिप्ट र डीक्रिप्ट हुने भएकाले सूचना पूर्णतः सुरक्षित हुन्छ ।’

    फेसबुक प्रतिक्रिया