बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवक मृत फेला

  • २०८० माघ २८, आईतबार (९ महिना अघि)
  • २३३ पटक पढिएको
बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवक मृत फेला

काठमाडौं– बलात्कारको आरोपमा पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् ।

Advertisement

राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आज मृत अवस्थामा फेला परेको कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए । उनका अनुसार मण्डलको शव कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

गत साउन १३ गते राति १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल गत भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा बन्दी थिए ।

बालिकालाई घरबाट जबरजस्ती तानेर पाँच सय मिटर पूर्वपोखरीको डिलमा लगेर बलात्कार गरेको भन्दै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।

हनुमाननगर कंकालिनी–६ का २३ वर्षीय देवनाथ मण्डल, २३ वर्षीय श्यामसुन्दर मण्डल र २० वर्षीया जसोधाकुमारी मण्डलले हातखुट्टा समातेपछि देवेन्द्रले बालिकाको सिउँदोमा सिन्दुर हालेको पीडितका बुवाको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालयले मण्डललाई गत साउन १७ गते पक्राउ गरेको थियो । प्रहरी कार्यालयमा गत साउन १८ गते बलात्कारको उजुरी दर्ता भएकोमा सप्तरी जिल्ला अदालतमा गत भदौ १० गते अभियोगपत्र दायर भएको थियो ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले मण्डललाई भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा राख्ने आदेश दिएको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट