काठमाडौं– धादिङको गजुरी गाउँपालिका–८ ठूलो बाङ्गेका ७४ वर्षिय कान्छिमायाँ तामाङ हिडडुल गर्न सक्दिनन् । खानपिन र शौचालय समेत अरुकै सहारा माग्नुपर्छ । उमेरले डाँडापारीको घाम बनेपनि नागरिकता नबन्दा सरकारले दिने सेवा तथा सुविधाबाट उनी अहिलेसम्म बञ्चित बनेकी थिइन् ।
जिल्ला प्रशासन कार्यालय धादिङले घरमै आएर नागरिकता बनाइदिएपछि उनी अहिले दङ्ग छिन् । ‘यो जुनीमा मेरो नागरिकता बन्ला भनेर सोचेकै थिइन । सरकार मेरै घरमा आएर नागरिकता बनाइदियो’ उनी भन्छिन्– ‘पहिले नागरिकताको महत्व नै बुझिएन । सरकारले सामाजिक सुरक्षा भत्ता दिने बेला नागरिकताको खोजी भयो । नागरिकता बनाउन जिल्ला प्रशासन जान नसक्दा सरकारले दिने सेवाहरु समेत पाइन । अहिले नागरिकता बन्यो, सरकार मैसँग रहेछ भन्ने मनमा लागेको छ । घरमै आएर नागरिकता बनाइदिने प्रशासन र जनप्रतिनिधिहरुलाई मेरो धन्यवाद छ ।’
ठूलो बाङ्गेकै ६९ वर्षिय सुनिता गोले पनि हातमा नागरिकता परेपछि अचम्म परेकी छिन् । घर छाड्न नसक्ने अति असक्त उनीहरुलाई जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेसहितको टोली घरमै पुगेर नागरिकता वितरण गरेपछि सरकारले दिने सेवा तथा सुविधा लिने बाटो खुलेको हो । घरमै आइ नागरिकता दिएर राष्ट्रिय परिचय पत्र बनाउने प्रक्रिया अघि बढाइदिएपछि उनीहरु दंग बनेका हुन् ।
असक्त, वृद्धवद्धा, अपाङ्गता भएकाहरुलाई जिल्ला प्रशासन कार्यालयले घर घरमै पुगेर नागरिकता वितरण अभियान थालेको छ । सोही अनुरुप गजुरी गाउँपालिका–८ बाङ्गेकी कान्छिमायाँ तामाङ, सुनिता गोले र नवराज थोक्रा तामाङ गरी तीन जनालाई घरमै पुगेर प्रशासनले नागरिकता वितरण गरेको हो ।
नागरिकता लिन योग्य तर प्रशासनसम्म पुग्न नसक्ने असक्त वृद्धवृद्धा, अपाङ्गता भएकाहरुलाई घर दैलोमै पुगेर नागरिकता दिने कामको सुरुवात गरिएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रले बताए ।
‘सबै पालिकालाई विवरण पठाइदिन अनुरोध गरेका छौं । सोही अनुसार गजुरी गाउँपालिका– ८ मा आएर नागरिकता प्रदान गरिएको हो । नागरिकतासँगै राष्ट्रिय परिचयपत्रका काम पनि घरदैलोमै गरिदने व्यवस्था मिलाएका छौं । जिल्ला प्रशासनसम्म पुग्न नसक्ने जिल्लाका सबै असक्त, वृद्धवृद्धा, अपाङ्गता भएका र नागरिकता बनाउन योग्य नागरिकहरुलाई आगामी दिनमा पनि घरदैलोमै पुगेर नागरिकता वितरण गर्छाैं’, प्रमुख जिल्ला अधिकारी गैह्रले भने ।
नागरिकता बनाउन सदरमुकामसम्म लैजाने ठूलै प्रयास हुदा पनि नसकिएकोले घरमै नागरिकता वितरण गर्नुपरेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए । एकजना अपाङ्गता भएका र दुई जना असक्त वृद्धाहरु गरी तीनै जनालाई एम्बुलेन्समा लगिदिन्छौं भन्दा पनि मानेनन् । प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेपछि अहिले घरमै आएर नागरिकता वितरण गरियो । पालिका भित्र अन्य वडामा पनि नागरिकता बनाउन बाँकी रहेकाहरुको विवरण संकलनको काम गरिरहेका छौं’ उनले भने ।
नागरिकता पाएका उनीहरुलाई सरकारले दिने सामाजिक सुरक्षा भत्ता लगायत अन्य सेवा तथा सुविधा लिन सहज हुने वडा नम्बर ८ का वडाअध्यक्ष देवराज ओझाले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप