काठमाडौं- खनियाँबास गाउँपालिका–१ धादिङकी मरिमाया तामाङ १७ वर्षदेखि वेपत्ता छिन् । घरबाट साउदीअरव जान हिडेकी छोरी वेपत्ता बनेपछि उनको परिवारमा अहिलेसम्म रुवाबासी चलेको छ ।
हिजोआज सान्द्रीमायाँ र उनका दुइ भाइको दैनिकी मरिमाया खोजेरै वितिरहेको छ । उनी भन्छिन्– ‘पैसा कमाएर आउँछु भनेर विदेश गएको छोरीसँग जम्मा दुइपटक फोनमा कुरा भयो । सउदी गएको १७ वर्ष भयो । न छोरी घर फर्किइन्, न सम्पर्क भयो । मेरो छोरी खोजिदिनुस् न है ।’
गाउँकै शेरबहादुर तामाङले छोरीलाई विदेश पठाइदिन्छु भनेर पासपोर्ट बनाएर लगेको उनकी आमा सान्द्रीमायाँ बताउँछिन् । ‘२०६३ साल पुषमा छोरी घरबाट निस्केर गइन् । २०६३ सालकै माघ २ गते दिल्लीबाट साउदिअरब उडेको भन्ने थाहा पायौं’ उनले भनिन्– ‘विदेश गएपछि छोरीले साथीको फोनबाट दुइ पटक फोन ग¥यो । तर साथीले जागिर छाडेर जान लागेको छ भन्थ्यो । त्यसपछि छोरीसँग बोली मिसिएको छैन’ आँखाभरि आँसु पार्दै सान्द्रीमायाँले भनिन् ।
छोरी खोज्न चिनेजानेका सबैलाई अनुरोध गरेको उनी बताउँछिन् । ‘गाउँ टोल तथा छरछिमेक, देश विदेश सबैलाई भनिसकेँ । तर छोरीको अझै पत्तै लागेन । उनका दुइ मामाको सहारा लिएर छोरी खोजिरहेको छु । मैले पहिले छोरी भेट्छु कि भगवानले मलाई पहिले भेट्छन् । त्यहि दिनको प्रतिक्षामा छु’ आँसु पुछ्दै उनले दुखेसो पोखिन् ।
‘१२ वर्षमा खोली फर्कन्छ भन्छन् । छोरी वेपत्ता भएको पनि १७ वर्ष वित्यो । तर छोरी फर्किएनन्, न छोरी सम्पर्कमा आइन्’ उनले भनिन्– ‘छोरीलाई विदेश पठाउन त्यतिबेला पनि गाउँकै शेरबहादुरलाई घरमै लगेर ५० हजार रुपियाँ दिएको छु । तर अहिले शेरबहादुरले मैले विदेश पठाएको होइन भनेर बहाना गरेर टार्छ । न मेनपावर कम्पनी थाहा, न विदेश पठाइदिएको मान्छे जिउँदो छ । छोरी खोजेरै मेरो जीवन वित्ने भयो ।’
सान्द्रीमायाँले छोरी विदेश पठाइदिने गाउँकै शेरबहादुर हो भन्ने दावी गर्छिन् । २०६३ सालमै ५० हजार दिएको उनी बताउँछिन् । तर शेरबहादुर भने आफुले विदेश नपठाएको जिकिर गर्छन् ।
‘मैले विदेश पठाउने एक जना रुवीभ्यालीको कान्छिमायाँ तामाङसँग भेटाइदिएको हो । त्यसपछि कसरी गयो, के भयो मलाई थाहा भएन । विदेश चाँहि गएको हो । केही पटक मसँग पनि फोनमा कुरा भयो’ शेरबहादुर भने– ‘लागुऔषध मुद्धामा म ११ वर्ष जेल परेँ । मलाई भेट्न आउदा पनि मैले सान्द्रीमायाँलाई त्यहि दिदिकोमा पठाएको थिएँ । पछि के भयो मलाई थाहा भएन । अहिले त विदेश पठाइदिने त्यो दिदि दमको कारण मृत्यु भइ सक्यो रे । गाउँकै बहिनी हो, कसरी खोज्ने मलाई पनि चिन्ता छ ।’