मिटरब्याजपीडित: आज माइतीघर मण्डलामा प्रदर्शन गर्दै

  • २०८० फागुन १०, बिहिबार (९ महिना अघि)
  • २९२ पटक पढिएको
मिटरब्याजपीडित: आज माइतीघर मण्डलामा प्रदर्शन गर्दै

काठमाडौं – चार हजार मिटरब्याज पीडित २३ दिनको पैदलयात्रापछि बुधबार बेलुकी संघीय राजधानी काठमाडौं आइपुगेका छन् । सुदूरपूर्वको काँकडभिट्टा र सुदूरपश्चिमको गड्डाचौकी नाकाबाट १६ माघमा एकैदिन ‘न्यायका लागि मार्च’ सुरु गरेका टोली निर्णायक आन्दोलनका लागि राजधानी आएका हुन् ।

Advertisement

थानकोटस्थित त्रिभुवन पार्कमा वास बसेका उनीहरू आज (बिहीबार) माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् । विगतमा पनि काठमाडौंमा आन्दोलन गरेका उनीहरू यसपटक भने माग पूरा नभएसम्म घर नफर्कने अठोट लिएका छन् ।

‘न्यायका लागि मार्च’का अभियन्ता तथा मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले अब माग सम्बोधन नभएसम्म पीडित घर नफर्कने बताए । उनले भने– ‘मिटरब्याज पीडितले न्यायका लागि पटक–पटक आन्दोलन गरे । सरकारसँग सम्झौता भयो । आयोग पनि बन्यो । तर, काम भएन र पीडितले न्याय पाएनन् । न जमिन फिर्ता भयो, न ऋण नै मिनाहा भयो । त्यसो हुँदा आन्दोलन पुनः सुरु गरिएको हो । यसपटक भने माग पूरा नभएसम्म घर नफर्कने दृढतासहित पीडित काठमाडौं आएका हुन् ।’
राजधानी काठमाडौंमा केन्द्रित भएर आन्दोलन गर्न मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नेतृत्वमा दुई टोली १६ माघमा हिँडेका थिए । १५ दिनमा काठमाडौं पुगेर निर्णायक आन्दोलन गर्ने योजना रहेपनि लामो हिँडाइका कारण गन्तव्यसम्मको यात्रा लम्बिएको हो । मिटरब्याजपीडितहरू सार्वजनिक स्थलमा बास बस्ने, खाना पकाएर खाने गर्दै निकै सकसपूर्ण रूपमा काठमाडौं छिचोलेका हुन् ।

 

सरकारले मिटरब्याजपीडित जाँचबुझ आयोग बनाए पनि अझै ३० हजार पीडितको समस्या नसुल्झिँदा आफूहरू न्यायका लागि यात्रा गरिरहेको पिडितहरु बताउँछन् । तराईका २० र भित्री मधेशका ८ गरी २८ जिल्लाका पिडितहरु न्याय खोज्न राजधानी आइपुगेका हुन् ।

मिटरब्याजपीडित गत चैतमा पनि पैदलै काठमाडौं आएका थिए । त्यतिखेर सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले हालै मात्र प्रतिवेदन बुझाएको छ । फर्जी तमसुक, दृष्टिबन्धक र चेक अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायतका माग पीडितहरूको छ ।

मिटरब्याज लिँदा साहुले अधिकांश पीडितको घरजग्गा दृष्टिबन्धक राखेर कब्जा गरेको पीडितको गुनासो छ । मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरू अवैध घोषणा गर्दै जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने संघर्ष समितिले माग राखेको छ । त्यस्तै, मिटरब्याज अपराधसम्बन्धी शक्तिशाली कानुन निर्माण गरी पूर्णाधिकारसहितको अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने माग समितिको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट