काठमाडौं– अस्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाइड एली पेपरले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छन् । उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल अक्सिजनको प्रयोग नगरि आरोहण गर्ने लक्ष्य रहेको बताइन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १० औं अग्लो आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण–१ को आरोहण गर्न लागेको बताइन् । सेभेन समिट ट्रेक्समार्फत अन्नपूर्ण–१ आरोहण गर्न लागेको उनले बताइन् ।
विना अक्सिजन हिमाल आरोहण गर्ने यात्राको सुरुवात भने उनले सन् २००७ मा नेपालको माउन्ट चोयु हिमालबाट गरेकी थिइन् ।
अस्ट्रेलियाली पर्वतारोही पेपरले आफ्नो लक्ष्यअन्तर्गत विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये अहिलेसम्म दुई वटा हिमाल अक्सिजनको प्रयोग नगरि आरोहण गरी सकेकी छन् ।
सन् २०२३ को जुलाई १५ मा विश्वको १२ औं अग्लो आठ हजार ५२ मिटरको ब्रोडपिक र विश्वको पाँचौं अग्लो आठ हजार एक सय ६३ को मनास्लु हिमाल सन् २०२३ को सेप्टेम्बर २८ मा आरोहण गरिसकेको उनले बताइन् । ब्रोडपिक हिमाल विना अक्सिजन आरोहण गर्ने उनी पहिलो अस्ट्रेलियाली महिला बनेकी छन् ।
४८ वर्षीया पेपरले महिलाहरूले सामना गरिरहेका चुनौतीहरूलाई जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन् । हिमाल आरोहणमा एली पेपरको २३ वर्षको अनुभव रहेको छ । यो वसन्त ऋतृमा नेपालको अन्नपूर्ण–१ सहित तीन वटा हिमाल आरोहण गर्ने योजना रहेको उनले बताइन् ।
विश्वमा अहिलेसम्म छ जनाले मात्र अक्सिजनविना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेका छन् । त्यसमध्ये पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको मुख्य चुचुरोमा पुग्ने दुई जना पुरुष मात्र छन्, उनीहरूलाई १६ वर्ष लागेको थियो ।
विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालअन्तर्गत सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनास्लु, नाङ्गा पर्वत, अन्नपूर्ण–१, गाशरब्रम–१, ब्रोडपिक, गाशरब्रम–२, शिशापाङ्मा पर्दछन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप