धादिङ चामबासका पहिरो पीडित : पाँच वर्षदेखि त्रिपालको बास, सुरक्षित ठाउँमा सार्ने सरकारी आश्वासन मात्रै

  • नेपाल पथ
  • २०८० चैत्र १०, शनिबार (८ महिना अघि)
  • ३२२ पटक पढिएको
धादिङ चामबासका पहिरो पीडित : पाँच वर्षदेखि त्रिपालको बास, सुरक्षित ठाउँमा सार्ने सरकारी आश्वासन मात्रै

काठमाडौं– धादिङको गजुरी गाउँपालिका– २ चामबासका पहिरो पीडितको बास पाँच वर्षदेखि त्रिपालमै छन् । थातथलो पहिरोले पुरिएपछि विस्थापित बनेका उनीहरु बस्ति स्थानान्तरण हुन नसक्दा त्रिपालमुनीको बास बस्न बाध्य भएका छन् ।

Advertisement

वर्षाैदेखि बस्दै आएको थातथलोे पहिरोका कारण बस्न योग्य नभएको भुगर्वविदहरुले बताएका छन् । तर बस्ति स्थानान्तरण नहुदा घर न घाटको बनेको पहिरो पीडितहरु बताउँछन् । ‘हावा हुरी र पानी आउँदा ठूला मान्छेहरु जोगिन कठिन छ, बालबालिका कसरी जोगाउने ? एउटा टेन्टमा ६÷७ जनासम्मको परिवार कसरी बस्नु ?’ प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई ज्ञापन पत्र बुझाउदै पहिरो पीडित पञ्चमायाँ तामाङ भन्छिन्– ‘अव त बर्खा लाग्यो झनै गाह्रो हुन्छ । पहिले कै बस्तीमा बस्न पनि हुदैन भन्नु हुन्छ । अन्त जाने ठाउँ छैन । च्यातिएकै त्रिपालमा वर्खा कट्ला र ? हामी कहाँ गएर बस्ने प्रमुख जिल्ला अधिकारी ज्यु ?’

सुरक्षित स्थानमा बस्ति स्थानान्तरणको लागि हारगुहार गर्दै यहाँका विस्थापितले यसअघि वडा कार्यालय, गाउँपालिका, मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमा पटक–पटक ज्ञापन पत्र बुझाइसकेका छन् । तर सुरक्षित ठाउँमा सर्ने आश्वासन मात्रै पाएको पीडितहरुको गुनासो छ ।

२०७५ सालमा बस्तिमा धाँजा फाट्यो । २०७६ सालमा वर्षाका कारण जमिन भासिएर धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा प¥यो । जमिन चिरा प¥यो । घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए । २१ परिवार विस्थापित भए । त्यतिबेलादेखि नै चामबासका पहिरो विस्थापितहरु बाह्रबिसेमा बस्दै आएका छन् । पाँच वर्षदेखि टेन्टमा रातदिन विताइरहेका विस्थापित परिवारलाई सरकारले अहिलेसम्म ठेगाना लगाउन सकेको छैन । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भेटिएकी पहिरो विस्थापित सानुमाया तामाङ भन्छिन्–‘अघिल्ला सिडियो, मन्त्री, सांसद धेरैसँग हारगुहार गरियो, सबैबाट आश्वासन मात्रै पाइयो, अहिले नयाँ सिडियो आउनु भएको रहेछ, उहाँले हाम्रा लागि केही गरिदिनुहुन्छ की भन्ने आश लिएर यहाँ आएका हौं ।’

यो बस्तीको पीडा गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, विभिन्न मन्त्रीहरुले पनि पटक पटक प्रत्यक्ष देखेका छन् । तर, स्थायी प्रवन्ध मिलाउन सकेका छैनन् । आशैआशमा कठिनले पाँच वर्ष विताए । २१ घरपरिवारका ९२ जना कोही टेण्डमा त कोही पूराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन् । अस्थाई बस्तीमा बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने र खानेको ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् । टेन्ट र जस्तापाताबाट छिरेको पानीले ओछ्यान भिजाउँछ । अब वर्षातको समय दुइ मुठी सास कसरी जोगाउने भन्ने चिन्ताले पिरोलेको विशु तामाङ बताउँछन् ।

सुरक्षित ठाउँमा बस्ति स्थानान्तरण गरिदिनुपर्ने, जिविकोपार्जनका लागि वैकल्पिक व्यवस्था मिलाइदिनु पर्ने र महिलाहरुलाई सीप सहित साना उद्यम सञ्चालन गर्ने व्यवस्था मिलाइदिनु पर्ने माग सहित ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बस्ति स्थानान्तरण गर्न यहि आर्थिक वर्षमा काम सुुरु गरिने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट