काठमाडौं- धादिङको बेनीघाट रोराङ गाउँपालिकाले व्यक्तिगत घटना दर्ता सप्ताह शुरु गरेको छ । नागरिकलाई घटना दर्ताका विषयमा जनचेतना फैलाउने र तथ्याङ्क संकलन गर्ने उद्देश्यले सप्ताह शुरु गरिएको हो ।
स्थानीय सरकारले नागरिकका बारेमा पूर्ण जानकारी राख्नु र नागरिकले आफ्ना बारेमा स्थानीय सरकारलाई जानकारी दुवै पक्षको जिम्मेवारी हो । सप्ताहलाई प्रभावकारी बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट पहल गर्न बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले आग्रह गरेका छन् ।
‘दिगो लक्ष्य विकासलाई मिट गर्ने गरि काम गर्न गर्नुपर्छ । घटना दर्तालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको विशेष भुमिका रहन्छ’ उनले भने– ‘केही घटनाहरुमा भने समस्या पनि रहेको छ । नागरिकतासङ्ग सम्बन्धित घटनामा समस्या छ । जहाँ घटना भएको छ, त्यहाँ दर्ता गर्ने हो । कानुनलाई टेकेर काम गर्ने हो । समस्या भयो भनेर छाड्ने होइन । विकटतामा चुनौतीसङ्गै अवसर पनि छ ।’
घटना दर्तालाई व्यवस्थित र बृहत् बनाउन समुदाय स्तरमै जानुपर्ने बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताए । ‘भनेकै समयमा सेवाग्राहिलाई सेवा दिन पनि मध्यनजर गरि अगाडि बड्नुपर्ने देखिन्छ । सबैको साझेदारी आवश्यक छ । यो सप्ताहमा जागरण ल्याउन सकिन्छ । यसलाई व्यापक बनाउँ’ उनले भने ।
बैशाख १ गतेदेखि शुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताह ७ गतेसम्म चल्नेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप