काठमाडौं- कहाली लाग्दो छङ्गाछुर भिर । मौरीको चाकाले भरिएका रमणीय तम्बा भिर । मौरीको मह झिक्न टाँगिएका डोरीका भर्याङ । त्यहि भर्याङमा मौरीको मह झिक्न मच्चिरहेका तीन साससिक युवाहरु । हरियो स्याउलाको पुल्ठो बालेर मौरीको चाकामा धुवाँ लगाउदै कोक्रोमा मौरीको मह थाप्दै डोरीमा बाँधेर तल झार्दै गरेको दृश्य हेर्न जात्रैसरि जुम्मिएका दर्शकहरुले तम्बाभिरको रौनक थपेको छ ।
भिरमौरीको मह निकाल्नका लागि री गाउँका चन्द्रबहादुर तामाङ, कुर्मु तामाङ, दुर्गा तामाङ सुरक्षासामाग्री सहित डोरीको भर्याङबाट झुण्डिएर मौरीको चाका रहेको भिरमा पुग्छन् । चाकामा भरिएको मौरीलाई हरियो स्याउलाले धुवाँर्दै भगाउँछन् । तीन जना युवाले मह रहेको चाका डोरीको सहायताबाट कोक्रोमा हाल्दै तल खोलामा रहेको साथीहरुलाई पठाउँछन् ।
कोक्रोमा महले भरिएको रसिलो चाका खोलमा रहेकाहरुले हातैले निचोरेर मह जम्मा गर्छन् र फेरी कोक्रो भिरमै पठाउँछन् । कोक्रो झार्दा र माथि भिरमा पठाउँदा अझ भनौं मह काढ्दा उनीहरुको जोस् र चिच्याइले गुञ्जिएको भिरको सुन्दरता झनै थपिएको देखिन्छ ।
कठिन, जोखिम तर सुन्दर देखिने मह शिकारले गंगाजुना गाउँपालिकाको पर्यटन प्रवर्धनमा टेवा पुगेको छ । गाउँभरका मानिसहरु हनि हण्टिङ हेर्न भिरभरि जात्रै सरह भरिएका छन् ।
तम्बा भिर मौरीको बासले मात्र होइन सँगै रहेको झरनाको दृष्यले पर्यटकहरु लोभिने गरेका छन् । डाँडाबाट झर्ने झरना, मौरीको चाकाले भरिएको भिर, भीरमा मानिस झुण्डिर तम्बा भिरमा गरेको महको शिकार जस्ता दृश्यले मानिसहरुलाई लोभ्याउने गरेको छ ।
भीर मौरीको मह वर्षमा दुईपल्ट काढिन्छ । जेठमा काढ्ने मह विषाक्तयुक्त रहने मह काढ्दै गरेका कुर्मु तामाङ बताउँछन् । ‘यो महलाई औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । तर सन्तुलन मिलाएर खान नसके यसले विरामी पनि पार्न सक्छ’ उनले भने– ‘महले कसै–कसैलाई नसहने र बिरामी नै बनाउने किसिमको हुन्छ । रातो गुराँसमा पाइने रसबाट बन्ने महले मात लाग्छ । मंसिरमा काढ्ने मह भने पोसिलो हुन्छ । भीर मौरीको महलाई स्थानीयवासीले सड्केको मर्केको जस्ता विरामीका लागि औषधिका रूपमा प्रयोग गर्दै आएका छन् ।’
गंगाजमुना गाउँपालिकाको वडा नं २ र ३ को सीमानामा रहेकोे ताप्राङ खोलामा रहेको निकै कहाली लाग्दो तम्बा भिरमा मौरीको शिकार गरिएको छ । ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवर्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गंगाजमुना गाउँपालिकाको संयुक्त टोली तम्बा भिरमा पुगेर कहाली लाग्दो भिरमा स्थानीयले ‘हनि हन्टिङ’ गरेका हुन् ।
उत्तरी धादिङको गंगाजमुनालाई साहसिक पर्यटकिय क्षेत्रको रुपमा विस्तार गर्नु पर्ने गङ्गाजमुना गाउँपालिका–३ वडा अध्यक्ष राजकुमार गुरुङले बताए । तम्बा भिर गङ्गाजमुना–२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ । ‘भिरमौरीको मह काढ्ने बेच्ने मात्रै भन्दा पनि अन्य थुप्रै सम्भावना रहेकोले वडा र पालिकाले अध्ययन गरिरहेको छ । मह सिजनको व्यापार होला तर पर्यटकिय दृष्टिकोणले विकास गर्न सके पालिकाकै विकासमा टेवा पुग्छ,’ उनले भने ।
३०औं वर्षपछि पुनः ‘हनि हण्टिङ’–वडा अध्यक्ष तामाङ
३०औं वर्षपछि तम्बाभिरमा हनि हण्टिङ गरिएको गङ्गाजमुना गाउँपालिका–२ का वडाध्यक्ष बलबहादुर तामाङले बताए । ‘बाबुबाजेको पालामा चोयाको डोरी बाटेर मह काढ्ने गरिन्थ्यो । बाहुबाजेको निधनपछि ३०औं वर्ष ग्याप भयो’ उनले भने– ‘मह काढ्ने दक्ष व्यक्तिको अभावका कारण रोकिएको थियो । हामीले मह काढ्ने मानिसको खोजी गर्याै । बैशाख र मंसिरमा गरी दुई पटक मह काढ्ने गरिन्छ । बजारको समस्या छैन । भिर मौरीको मह काढ्नु अघि नै पैसा लिएर घरमा आउँछन् । १० गाग्री जति मह संकलन गरिएको छ । यो भिर मौरीको मह सड्केको मर्केको विरामीलाई उपचारका लागि प्रयोग गरिदै आएको छ ।’
‘तेम्बा भनेको भिर ‘ह्यारा’को अर्थ भिरमौरी बस्ने ठाउँ भन्ने बुझिन्छ । मह झिक्नका लागि नजिकै रहेको लताप, धुसेनी र तावलका स्थानीय बासिन्दाको मात्रै सहभागिता रहने गरेको छ । मह झिक्न भीरमा प्रयोग हुने डोरीको भर्याङ लगायतको सामग्री खरिद गर्न हाल ‘री’ गाउँका ६ जना युवाले दुई लाख लगानी गरेर गरेको र उत्पादन भएको मह एक हजार पाँच सयदेखि दुई हजारसम्ममा बिक्री वितरण गरिँदै आएको छ,’ वडाध्यक्ष तामाङले भने ।
भिरमौरी र साहसिक पर्यटनलाई योजना बनाएर पालिका अगाडी बढ्छ– प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठ
साससिक पर्यटनको सम्भावना बोकेको गंगाजुमना गाउँपालिकामा भिर मौरीको पनि उत्तिकै संभावना रहेकोले पालिकाले योजना बनाएर अगाडी बढ्ने गंगाजुमना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठले बताए ।
‘भिरमौरी, साहसिक पर्यटन प्रवर्धन जस्ता क्षेत्रलाई व्यवस्थित गर्न पालिकाले सञ्चारकर्मी, टान लगायत सरोकारवाला निकायसँग पनि समन्वय गरिरहेको छ । धार्मिक तथा पर्यटकिय हिसावले गंगाजमुना गाउँपालिका धनि रहेको छ’ उनले भने– ‘विगत लामो समयदेखि भिरमौरीको मह उत्पादन हुँदै आएको तेम्बा भिरमा मह उत्पादनका लागि आवश्यक सामग्री सहयोग गर्दै आएको छ । साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको क्षेत्र भएकाले भीरमा रहेको महलाई बेच्ने मात्रै भन्दा पनि अवलोकनस्थल बनाएर पर्यटक भित्र्याउने योजनामा छौं । क्यानोनिङको सम्भावना पनि छ । गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्ने योजना रहेको छ ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप