काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई उपहार भन्दै धुलो पठाएका छन् । ठाडो आदेशमा भइरहेको काम रोकेको भन्दै मेयर शाहले सडक विभाग र सडक डिभिजन काठमाडौं अगाडि ट्रकमा राखेर लगेको धुलो खन्याएका हुन् ।
सामाजिक सञ्जालमा धुलो खन्याएको भिडियोसहितको पोस्टमा शाहले लेखेका छन्, ‘माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठज्यू ! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ जर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको छ ।’
मन्त्रालयको कारण महानगरले गाली र नगरवासीले धुवाँधुलो खानुपरेको भन्दै मेयर शाहले रोकेको काम अघि नबढाएसम्म हरेक दिन पायक पर्ने स्थानमा एक ट्रक धुलो ‘उपहार’ पठाउने उल्लेख गरेका छन् ।
‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु । माया सम्झेर स्विकार्नुहोला ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप