काठमाडौं- धादिङको गंगाजमुना गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको लागि आयोजित क्षमता विकास तालिम सम्पन्न भएको छ ।
गंगाजमुना गाउँपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखा धादिङको आयोजनामा सञ्चालित तालिममा गंगाजमुना गाउँपालिका ३० वटा सामुदायिक विद्यालयका ४० जना विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका अध्यक्ष तथा अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले आगामी दिनहरुमा बस्तीदेखि विद्यालयसम्म जाने सडकहरुको निर्माण तथा मर्मत गरि बाह्रै महिना यातायातका साधन चल्न सक्ने बनाउने र आवश्यकतानुसार विद्यालयको संख्या घटाउने तथा गाउँपालिकाले विद्यार्थीहरुको सुविधाको लागि विद्यालयहरुमा बसको व्यवस्था गर्ने बताए ।
विद्यालयहरुमा शैक्षिक गुणस्तर बृद्धिमा जोड दिने गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले बताए । त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि तालिममा पहिचान भएका सवालहरुलाई समाधानका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तालिमको सहजीकरण तथा प्रशिक्षण सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल बागमती प्रदेश कार्यसमितिका महासचिव श्याम बहादुर मगरातीले गरेका छन् । उक्त तालिममा विद्यालयमा अभिभावकको सहभागिता अवधारणा र अभ्यास, विद्यालयमा अभिभावक सहभागिता किन र कसरी, विद्यालय व्यवस्थापन समिति भनेको के हो ? विद्यालय व्यवस्थापन समितिको गठन, काम, कर्तव्य र अधिकार, गुणस्तरीय शिक्षाका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भुमिका, प्रधानाध्यापकको काम, कर्तव्य र अधिकार, विद्यालय व्यवस्थापनका सवालहरु, विद्यालयको सामाजिक लेखा परीक्षण, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कमजोर हुनाका कारणहरु र गुणस्तर सुधारका लागि गर्न सकिने पहल तथा कदमी लगायतका विषयहरुमा छलफल गरिएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप