काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना पक्राउ परेका छन् । भन्सार छलेर लैजान लगेको आरोपमा चार जनालाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
कतार एयरको उडानबाट आएका मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला र रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाम आलमलाई शनिबार राति पक्राउ गरेको हो ।
उनीहरूलाई २५ ग्रामको सिक्री र ६९ ग्राम ९९ मिलिग्रामको काँचो सुनको डल्लोसहित पक्राउ गरेको हो । उनीहरूलाई विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो ।
त्यस्तै, शनिबार दिउँसो प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक नगरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिँया छन् ।
उनीहरूबाट करिब ५० ग्राम सुनको सिक्री बरामद भएको थियो। ज्याउदिन कतार एयरको उडान दोहाबाट नेपाल आएका थिए ।
ज्याउदिनले भन्सार छली ल्याएको उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइने छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप