गुम्दी स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न, दरबन्दी अनुसारको कर्मचारी ल्याउन स्थानीयको माग

  • २०८१ जेष्ठ २९, मंगलबार (४ महिना अघि)
  • २५६ पटक पढिएको
गुम्दी स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न, दरबन्दी अनुसारको कर्मचारी ल्याउन स्थानीयको माग

काठमाडौं– धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दीमा रहेको गुम्दी स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न भएको छ ।

Advertisement

वडाध्यक्ष प्रेम घलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकीले गत आर्थिक वर्ष २०७९/०८० र ०८०/०८१ मा प्रवाह गरेका सेवा, आर्थिक विवरण एवम् स्वास्थ्य चौकीले प्रदान गर्दै आएको सेवाप्रति सेवाग्राहीले उठाएका सवाल र सुझावहरुको विषयमा छलफल भएको छ ।

कार्यक्रममा सहभागी भएका नागरिकहरुले स्वास्थ्य चौकीबाट पाइने निशुल्क औषधिको स्टक नहुँदा आवश्यक परेको बेला नपाउदा समस्या परेको बताएका छन् । स्वास्थ्य चौकीको एम्बुलेन्स भएपनि आवश्यक परेको बेला एक घण्टा नै कुर्नुपर्ने हुँदा एम्बुलेन्स स्वास्थ्यचौकी नजिकै राख्न सुझाव दिएका छन् । यस्तै स्वास्थ्यचौकीमा दरबन्दी अनुसारको कर्मचारी ल्याउन पहल गर्न माग गरेका छन् । स्वास्थ्यचौकीको निर्माणाधिन भवन दु्रत गतिमा निर्माण हुनुपर्ने र एक्सरे सेवा विस्तार गर्नुपर्ने लगायतका माग र सुझाव दिएका छन् ।

वडाध्यक्ष एवम् स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर घले र स्वास्थ्य चौकी इन्चार्ज बाबुराम दाहालले नागरिकबाट आएको सल्लाह र सुझावलाई मध्यनजर राख्दै आगामी दिनमा स्वास्थ्य चौकीमार्फत प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । वडाध्यक्ष घलेले वडामार्फत स्वास्थ्यसेवा सुधारका लागि थप कार्यक्रम तथा बजेट बिनियोजन गरेर काम गर्ने बताए ।

कार्यक्रममा स्थानीय नागरिक, वुद्धिजीवी, स्वयम्सेविका लगायतको सहभागीता रहेको थियो । सामाजिक परीक्षण कार्यक्रमका सहजीकरण पत्रकार अर्जुन श्रेष्ठले गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट