काठमाडौं- सीप तथा क्षमता भएका र जागिरको खोजीमा रहेका व्यक्तिहरूलाई लक्षित गरी धादिङबेसीमा सीप तथा रोजगार मेला हुने भएको छ । रोजगारदाता र रोजगारी चाहने श्रमिक युवाबीच समन्वय गराउने उद्देश्यले नीलकण्ठ नगरपालिकाले युवा, सीप, तालिम तथा रोजगार मेलाको आयोजना गरेको हो ।
श्रमिकले रोजगारी नपाउने र रोजगारदाताले श्रमिक नपाउने अवस्थालाई अन्त्य गर्न असार १४ गते युवा, सीप, तालिम तथा रोजगार मेलाको आयोजना गरिएको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताए । ‘देशमा रोजगारीको सुनिश्चितता भएन भनेर विदेशिनेको लर्काे बाक्लो छ । अनि, अर्काेतर्फ रोजगारदाताले श्रमिक नपाएर अन्यत्रबाटै श्रमिक भित्र्याएका छन्’ उनले भने– ‘श्रमिक र रोजगारदाताबीच समन्वय गराउने र बेरोजगारी न्यूनिकरण गर्न यो मेलाले सहयोग गर्नेछ ।’
असार १४ गते युवा, सीप, तालिम तथा रोजगार मेलाको आयोजना गरिएको शनिवार पत्रकार सम्मेलन गरि आयोजनकले जानकारी दिएको हो ।
‘हातमा सिप हुनेलाई रोजगारीको अवसर प्रदान गर्न, सफल व्यवसायी र विषय विज्ञसँग अन्तरसंवाद गर्न, रोजगारी खोज्ने र दिनेहरुकाबीच नवप्रवर्तन र स्वव्यवसाय विकासलाई प्रवद्र्धन गर्न यो मेला कोशेढुंगा सावित हुने विश्वास छ‘ उनले भने– ‘यो मेला बजारमा दक्ष जनशक्तिको अभाव पूर्ति गर्न र काम खोज्ने जनशक्ति र काम दिनेहरूको संयुक्त भेला जस्तै हो ।’
जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बाल मन्दिर माध्यामिक विद्यालयमा हुने मेलामा सरकारी, नीजि, गैरसकारी क्षेत्रका रोजगारी, सिप, तालिम, व्यवसाय तथा समग्र श्रम सम्बन्धी १४ ओटा स्टल रहने नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठले जानकारी दिए । मेलामा धादिङ उद्योग वाणिज्य संघ, चेम्वर अफ कमर्श, होटल संघ, उद्योग तथा वाणिज्य कार्यालय, कृषि विकास तथा पशुसेवा कार्यालय, उद्यमशीलतामा काम गर्ने विभिन्न संस्थाहरु, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र लगायतले स्टल राखेर रोजगारी सम्बन्धि परामर्श दिने उनले बताए ।
असार १४ गते हुने एक दिने युवा सिप, तालिम तथा रोजगार मेलाले रोजगारीको खोजीमा रहेका विविध क्षेत्रका युवाहरुलाई रोजगारदातासँग जोड्न, उद्यमशीलता तथा रोजगारका कैयन अवसरका बारेमा ज्ञान दिइने प्रवक्ता श्रेष्ठले बताए । ‘मेलाले नगर भित्रका युवाहरुलाई स्वदेशमा नै रोजगार प्राप्त गर्न पहुँच योग्य बनाउने र सिप तालिम लिन इच्छुकहरुलाई एकद्धार प्रणालीबाट फारम भराई आगामी वर्षमा सिप तालिम दिन सहज वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ । जसरी भएपनि नीलकण्ठ नगरपालिकाको प्राथमिकता रोजगारीको सुनिश्चितता नै हो’ उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप