काठमाडौं– मुग्लिन–नारायणगढ सडकको सिमलतालमा गएको पहिरोमा परी त्रिशूली नदीमा वेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीका लागि भारतीय उद्धारकर्ताको १२ सदस्यीय टोली पनि सहभागी भएको छ ।
हिजो चितवन आएको चार जना गोताखोरसहित १२ सदस्यीय भारतीय टोली पनि सहभागी भएको गृह मन्त्रालयअन्तर्गतको कमाण्ड पोष्टका संयोजक एवम् गृह मन्त्रालयका सह–सचिव डा. भिष्मकुमार भुषालले जानकारी दिए ।
भारतको ’राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरएफ) का प्राविधिकसहितको टोलीले ल्याएको सोनार क्यामराले ३० मिटर गहिराइसम्मको वस्तु सङ्केत गर्न सक्ने बताइएको छ । भारतीय टोली एक साता खोजीमा संलग्न हुने छ । असार २८ गते शुक्रवार भएको घटनापछि दुइवटै वस र यात्रु हराइरहेका छन् ।
बससँगै ६२ जना यात्रु हराएकामा अहिलेसम्म २५ वटा शव भेटिएको छ । भेटिएका शवमध्ये १७ जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुवै बस र ३७ जना यात्रुको अवस्था अहिलेसम्म थाहा भएको छैन ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप