काठमाडौं– मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन आज सेयर बजार एक सय अङ्कभन्दा धेरैले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज एक सय १३ दशमलव ४२ अङ्कले बढेर दुई हजार ६ सय ८१ दशमलव ५६ विन्दुमा पुगेको छ । नेप्से आज ३० महिनायताकै उच्च विन्दुमा पुगेको हो ।
आज बैंकिङ समूहको सेयर झन्डै १० प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको सेयर उकालो लागेको छ । १९ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेकोमा धेरैजसो वाणिज्य बैंकका रहेका छन् । समग्रमा बजार बढे पनि आज गणपति लघुवित्त वित्तीय संस्थाको सेयर झन्डै साढे नौ प्रतिशतले घटेको छ ।
आज चार करोड तीन लाख कित्ता सेयर १५ अर्ब ८१ करोड पाँच लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको ३६ करोड १० लाख र एनआईसी एसिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आज सेयर बजारमा दुई पटक ’सर्किट ब्रेक’ लागेर कारोबार बन्द भएको थियो । बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दा कारोबार २० मिनेट स्थगित भयो । २० मिनेटपछि खुलेको बजारमा पुनः एक मिनेटमै थप एक प्रतिशत विन्दु अर्थात् पाँच प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप