काठमाडौं – प्रहरीले मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकाल्न बन्द गरेको मुग्लिन–आँबुखैरेनी सडक खुलाएको छ । साढे तीन घण्टा सडक बन्द गर्ने भन्दै प्रहरीले बिहान साढे ६ बजेदेखि बन्द गरेको सडक दिउँसो झन्डै २ बजेमात्रै खुलाएको हो ।
बसलाई खोला किनारबाट केही माथि ल्याएको भए पनि निकाल्न सम्भव नभएपछि गाडी निकाल्ने काम बन्द गरेर सडक खुलाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता दीपककुमार रायले जानकारी दिए । स्थानीय प्रहरी प्रशासनले तोकेको समय अवधिभन्दा बढी समयसम्म गाडी आवागमन बन्द गरिएपछि यात्रुहरू अलपत्र परेका थिए । यात्रुको समस्यालाई ध्यान दिएर गाडी ननिकाली बाटो खुलाएको डीएसपी रायले बताए ।
गएको शुक्रवार पोखराबाट भारतीय तीर्थयात्री लिएर काठमाडौंतर्फ आइरहेको भारतीय नम्बरको बस आँबुखैरेनी गाउँपालिकाको ऐनापहरा भन्ने ठाउँबाट मर्स्याङ्मा खस्दा २७ जनाको ज्यान गएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप