काठमाडौं– नुवाकोटमा रहेको सात तले दरवारको पुनःनिर्माण कार्य सुरु गरिएको छ । नेपाल सरकार र चिनियाँ सरकार बीच भएको सम्झौता अनुसार चिनियाँ टोलीले पुनःनिर्माणको काम सुरु गरेको हो ।
२०७२ बैशाख १२ गते गएको विनाशकारी गोर्खा भुकम्पले क्षतिग्रस्त बनेको नुवाकोटको सात तले दरबारसहित आसपासका धार्मिक एंव पुरातात्विक सम्पदाको पुर्ननिर्माण गर्न चिनियाँ पक्ष नेपाल आएर पुर्ननिर्माण थालेको हो । भुकम्पले क्षतिग्रस्त दरबार सहितको संरचना पुर्ननिर्माणको क्रममा चिनियाँ टोलीले भुकम्पले जीर्ण बनाएको संरचनालाई थप क्षति हुन नदिन २०७६ असारमा खट बनाएर फर्किएको थियो ।
सरकारीस्तरमा भएको सम्झौता अनुसार पुरातत्व विभाग र निर्माणको जिम्मा पाएको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ बीच २०७६ जेठमा ४५ महिनाभित्रै काम सम्पन्न गर्ने उल्लेख गरिएको थियो । तर कोरोना तथा विभिन्न कारण देखाएर पुर्ननिर्माणमा ढिलाई गरेका थिए । नेपाल सरकारसंग भएको सम्झौताको अवधि सकिनु र चिनियाँ टोली सम्पर्कमा नआउदा दरवार लगायत अन्य पुरातात्विक संरचनाको पुर्ननिर्माण अन्यौलमा परेको थियो । तीनवर्ष पश्चात २०७९ असोजमा चिनियाँ प्राविधिक (इञ्जिनियर) टोली आएर साततले दरबारको जग, वाल र छानाको वस्तुस्थिति अध्ययन पश्चात प्रवलिकरण अथवा पुर्ननिर्माण सम्बन्धि अध्ययन गरेर फर्किएको थियो ।
अहिले तेश्रो पटक चिनियाँ पक्ष कार्यक्षेत्रमा आएर पुनःनिर्माण अघि बढाउन आवश्यक व्यवस्थापनमा जुटेको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख सुनिल पौडेलले बताए । पछिल्लो समय चिनियाँ टोलीले दरवार पुर्ननिर्माणका काम थालेपछि जीर्ण बनेको दरबारको स्वरुप फेरिने भएको हो ।
पुनःनिर्माणको लागी यसअघिको सम्झौता अवधि काम सुरु नहुदै सकिएकाले नयाँ सम्झौता मार्फत पुनःनिर्माण अघि बढाउन चिनियाँ पक्ष सकारात्मक देखिएको पौडेललेको भनाई छ ।
सम्पदा पुनःनिर्माणको क्रममा उत्पन्न स–साना प्रकृतिका समस्या समाधानको जिम्मेवारी स्थानीय सरकारको हुनेछ । कर्मचारी–कामदारको भिषा थप, राजश्व छुट लगायतमा संघीय सरकारको सहयोग हुने गरी नयाँ सम्झौता गर्न लागिएको छ । पहिलो चरणमा साततले दरबार सहित दरबार परिसरमा रहेको गोदामघर र रङ्गमहलको आवश्यकताको आधारमा पुर्ननिर्माण तथा प्रवलिकरण गरिने चिनियाँ पक्षले जनाएको छ ।
त्यस पश्चात लिच्छविकालीन तलेजु (तुलजा भवानी)को मन्दिर, सेतोपाटी, लामपाटी, विष्णु र नारायण मन्दिरको पुर्ननिर्माण गरिने छ । चिनियाँ पक्षले कार्य प्रारम्भ पूर्व नै नियमित विद्युत प्रवाह, दरबारसम्म हेभी उपकरण सहितको सवारीसाधन आउजाउ गर्न पहुँच मार्ग, पानी, सामाग्रि भण्डारणको लागी खुला स्थान उपलब्ध गराउन माग गरेको छ । विदुर नगरपालिकाले सोहि अनुरुप व्यवस्था गरिने नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि १८०१ मा विजय हासिल गरे पश्चात साततले दरबारको निर्माण गर्न लगाई सोहि स्थानबाट देशभरको कामकाज सञ्चालन गरेका थिए । उक्त दरबार क्षेत्र परिसरमा अवस्थित तुलजा भवानी मन्दिर भने लिच्छविकालिन रहेको नुवाकोट दरबार मौला अमालका प्रतिनिधि (द्वारे) महेन्द्रकुमार शाहीले बताए ।