साफ महिला च्याम्पियनसिपः यस्तो छ नेपालको तयारी

  • २०८१ आश्विन २९, मंगलबार (२ दिन अघि)
  • १०२ पटक पढिएको
साफ महिला च्याम्पियनसिपः यस्तो छ नेपालको तयारी

|फाइल फोटो

काठमाडौं- कात्तिक १ गतेदेखि काठमाडौंमा सुरु हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै एन्फाले च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

Advertisement

प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन् । सहभागी टोलीहरूमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश नेपाल आइसकेको छ भने भारत र भुटानको टीम बुधबारसम्म नेपाल आउने एन्फाले जनाएको छ ।

प्रतियोगिताको तयारीका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाकी भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको समूह चरणका खेलको टिकट दर साधारण प्यारापिटतर्फ तीन सय र भीआइपीतर्फ पाँचसय तोकिएको छ भने नकआउट चरणका खेलहरुको टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय र भीआइपीतर्फ एक हजार कायम गरिएको एन्फाले जानकारी दिएको छ ।

च्याम्पियनसिपका लागि दशरथ रंगशालालाई पूर्णरूपमा तयार पारिएको एन्फाले जनाएको छ । च्याम्पियनसिपमा सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन् । साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् भने नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ । त्यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलङ्कासँग खेल्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल खेल कात्तिक १४ गते हुने एन्फाले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट