काठमाडौं– वुमेन्स साफ च्याम्पियनसीप २०२४ मा नेपालले माल्दिभ्सलाई ११–० ले पराजित गरेको छ । रेखा पौडल र प्रिति राईको ह्याट्रिकको मद्दतले नेपालले फराकिलो अन्तरले जीत हात पारेको हो ।
दशरथ रंगशालामा भएको खेलमा रेखाले पाँच गोल गरिन् । उनले ३२, ४२, ४८, ६३ र ७७ औं मिनेटमा गोल गर्न सफल भइन् । यस्तै, प्रिति राईले भने ६, ६५ र ८७ औं मिनेटमा गोल गरिन् । सविता रानामगर, अनिता केसी र अमिशा कार्कीले एक एक गोल गरेका छन् ।
सविताले २९, अनिताले ६८ र अमिशाले ८८ औं मिनेटमा गोल गरे । यसै खेलबाट नेपालका लागि सजनी थोकरले डेब्यु गरेकी छिन् । यही प्रतियोगिताका लागि फ्रान्सबाट आइतबार बिहान नेपाल आइपुगेकी सावित्रा भण्डारी भने बेञ्चमै रहिन् ।
यो जितसँगै नेपालले समूह ‘बी’ को शीर्ष स्थान ओगटेको छ । नेपालको दुई खेलबाट चार अंक भएको छ । भुटानको पनि दुई खेलबाट चारै अंक रहेको छ । नेपाल गोल अन्तरको आधारमा समूहको पहिलोमा रहेको हो । श्रीलंका तीन अंकमा तेस्रोमा छ । माल्दिभ्स भने शून्य अंकमा रहेको छ ।
यससँगै प्रतियोगितामा माल्दिभ्सको चुनौती समाप्त भएको छ । अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ । भुटान भने माल्दिभ्ससँग भिड्ने छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप