आज तिहारको कुनै पर्व छैन

  • २०८१ कार्तिक १६, शुक्रबार (३ हप्ता अघि)
  • १०९ पटक पढिएको
आज तिहारको कुनै पर्व छैन

काठमाडौं– शुक्रबार तिहारको कुनै पर्व नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

Advertisement

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व नपरेको जनाइएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व हो । प्रत्येक महिनाको औँसीलाई पर्व मानिन्छ । औँसीमा विशेषगरी पितृकर्म हुने गर्छ । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिले जनाएको छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्हरुको भनाई छ । गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका तीन सय ६५ दिन नै गाई पूजा गर्न सकिन्छ । तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने उनीहरुको भनाई छ। । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ ।

कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवर्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ गरी छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो र समितिले तिहारको अवसरमा जारी गरेको विज्ञप्तिमा पनि प्रष्ट रूपमा लेखिएको छ । यसरी प्रष्ट पार्दापार्दै पनि शुक्रबार नै गाई पूजा भनी चर्चा परिचर्चा भइरहेकाले यसप्रति सचेत हुन समितिले आह्वान समेत गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट