काठमाडौं– रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ का हर्क पुन घरबिहीन भएको एक वर्ष भयो । एक हिउँद र एक बर्खा टिनको टहरामा कटाएका उनलाई यो वर्षको चिसो पनि टिनकै टहरामा बित्ने हो की भन्ने चिन्ताले सताएको छ ।
गएको वर्षको कात्तिक १७ गते रातिको भूकम्पले घर भत्काइदिएपछि केही दिन त्रिपालमुनि रहेको उनको परिवार अहिले पनि टिनको टहरामा छन् ।
भूकम्प गएको केही महिना त्रिपालमुनि र त्यसयता टहरामा बसिरहेका भूकम्प प्रभावित परिवार सुरक्षित आवासको आशामा छन् । कठ्याङ्ग्रिदो चिसोमा त्रिपाल, गर्मीमा टिनको टहरामा बस्न बाध्य यहाँका भूकम्पपीडितले अझै सुरक्षित आवास पाउन सकेका छैनन् । एक वर्षमा पनि सरकारले पुनःनिर्माण कार्यविधि ल्याउन सकेको छैन ।
भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० तयार गरेर टहरा निर्माणका लागि तत्कालै प्रतिपरिवार ५० हजार अनुदान व्यवस्था गर्ने जनाएको थियो । तर, उक्त रकम पूरा नदिएको भूकम्पपीडितको गुनासो छ ।
तत्काल त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रबन्ध भएपनि पुनःनिर्माण हुन नसकेको सानीभेरी गाउँपालिका–४ का वडा अध्यक्ष मनोज बुढाथोकीले बताए ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको तथ्याङकअनुसार जिल्लाभर ३४ हजार नौ सय ८९ लाभग्राही रहेकामा ३२ हजार नौ सय ९६ घरधुरीले अस्थायी टहरा निर्माणको पहिलो किस्ता प्राप्त गरेका छन् । पुननिर्माणको त कार्यविधि नै तयार नभएकोले स्थायी बसोबासको टुङ्गो कहिले लाग्ने भन्ने अन्योल छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप