धादिङमा मंसिर ६ देखि पालिका स्तरीय भलिबल प्रतियोगिता हुदै, यस्तो छ खेल तालिका

  • २०८१ मंसिर ४, मंगलबार (१ दिन अघि)
  • १३३ पटक पढिएको
धादिङमा मंसिर ६ देखि पालिका स्तरीय भलिबल प्रतियोगिता हुदै, यस्तो छ खेल तालिका

धादिङ– धादिङमा मंसिर ६ गते बिहिबारदेखि अन्तर पालिका महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिबल संघ धादिङले मंगलबार पत्रकार सम्मेलन गरि खेल तालिका (टाईसिट) सार्वजनिक गरेको हो ।

Advertisement

धादिङ जिल्ला भलिबल टिमका पूर्व कप्तान स्व.मनोज श्रेष्ठको स्मृतिमा आयोजना गरेको महिला/पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो । जिल्लामा भलिबल खेलाडी उत्पादन गर्ने र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तिलक गुरुङले बताए ।

स्वर्गिय मनोज श्रेष्ठले जिल्लाको खेल क्षेत्रमा पुर्याएको योगदानलाई स्मरण गर्दै खेल जगतलाई अझै उचाईमा लैजाउनु पर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतासिंह तामाङले बताए । श्रेष्ठलाई गुमाउनु पर्दा धादिङ जिल्लाको खेल जगतमा ठूलो क्षति व्यहोर्नु परेको छ । यस्ता प्रतियोगिताले श्रेष्ठ जस्तै राम्रा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने उनले बताए ।

मंसिर ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष तर्फ ११ टिम र महिलातर्फ ८ टिम रहेका छन् । जसअनुसार पुरुषमा रुवीभ्याली गाउँपालिका, खनियावास गाउँपालिका, लिङ्जो युवा क्लब, सिङ्गङ एकता समाज, नेत्रावति डबजोङ गाउँपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र गल्छी गाउँपालिका रहेका छन् ।

त्यस्तै महिला तर्फ गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, गल्छी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र केबलपुर हरिहर भोजकुमारी माध्यामिक विद्यालय थाक्रे रहेका छन् ।

पुरुष भलिबलमा प्रथम हुनेले नगद १ लाख १ हजार एक सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद ५५ हजार पाँच सय ५५ र सेमिफाइनलमा पुग्ने टिमहरुले रु.२०÷२० हजार पाउने छन् । त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले नगद ५५ हजार पाँच सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले ३० हजार तीन सय ३० र सेमिफाइनल पुग्ने टिमहरुले रु.१५÷१५ हजार पाउने छन् । प्रतियोगितामा सहभागी खेलाडीहरुको विमा गरिएको आयोजकले बताएको छ ।

यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । धादिङको गंगाजमुना गाउँपालिका–४,गुम्दी घर भएका धादिङ भलिबल टिमका कप्तान श्रेष्ठको ०८० कात्तिक ९ गते सिद्धलेकको खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो । टिपटप हेल्प नेपालबाट प्रधानमन्त्री कप एनभीए समेत खेलेका श्रेष्ठको कप्तानीमा धादिङले बागमती प्रदेश स्तरिय प्रतियोगिता समेत जितेको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट