४ महिनामा नेपालद्वारा १२ अर्ब ७२ करोडको बिजुली निर्यात

  • २०८१ मंसिर ५, बुधबार (१ दिन अघि)
  • ४७ पटक पढिएको
४ महिनामा नेपालद्वारा १२ अर्ब ७२ करोडको बिजुली निर्यात

काठमाडौं– चालू आर्थिक वर्ष (आव) २०८१÷८२ को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ ।

Advertisement

नेपाल विद्युत् प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी बाँकी भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट बिजुली भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ ।

प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

साउनमा ४ अर्ब १४ करोड ५० लाख ७७ हजार रुपैयाँको बिजुली निर्यात गरिएको छ । साउनमा ४९ करोड ५६ लाख ६ हजार युनिट बिजुली निर्यात गरिएको हो । साउनमा निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट ८ रुपैयाँ ३६ पैसा थियो ।

भदौमा ३ अर्ब ६७ करोड ८४ लाख ४८ हजार रुपैयाँको बिजुली निर्यात गरिएको छ । भदौमा निर्यात गरिएको ५५ करोड ९४ लाख ४७ हजार युनिट बिजुलीको औसत दर प्रतियुनिट ६ रुपैयाँ ५८ पैसा थियो ।

असोजमा ३ अर्ब ६ करोड ५१ लाख ३९ हजार रुपैयाँको बिजुली निर्यात गरिएको छ । असोजमा ३७ करोड ९२ लाख ६३ हजार युनिट बिजुली निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ८ रुपैयाँ ०८ पैसा रहेको छ ।

कात्तिकमा २३ करोड ३५ लाख ७६ हजार युनिट बिजुली निर्यात गरिएको छ । कात्तिकमा १ अर्ब ८३ करोड ७ लाख ९५ हजार रुपैयाँको बिजुली निर्यात गरिएको हो । यस महिनाको औसत दर प्रतियुनिट ७ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्राधिकरणले अहिलेसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९४१ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति पाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट