गुल्मी – गुल्मीको धुर्काेट गाउँपालिका–६ रजस्थलका मेघनाथ अर्यालको परिवारले चार सय मुरी धान फलाएको छ । एउटै परिवारले यति धेरै धान फलाउने अर्याल परिवार जिल्लामै एक्लो हो ।
अहिलेसम्म तीन सय मुरी धान खेतबाट उठाइसकेको र अझै सय मुरी उठाउन बाँकी रहेको अर्यालले बताए । उनले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गरेका छन् । भाडामा लिएको जग्गाको वार्षिक प्रतिरोपनी तीन हजार रुपैयाँका दरले बुझाउँदै आएको अर्यालले बताए ।
यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ गरेर बेच्ने उनको योजना छ । पहाडमा सधैँ तराईबाट चामल आउने भएकाले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना रहेको किसान अर्यालले सुनाए । उनले धान खेतीका साथै व्यावसायिक भैँसीपालन पनि गरेका छन् ।
धुर्काेट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एउटै किसानले यति धेरै परिमाणमा धान उत्पादन गर्नुले गरे के हुँदैन भनेर अरूलाई पनि राम्रो सन्देश दिएको बताए ।
गुल्मीमा यस वर्ष सात हजार हेक्टरमा बर्खे धान लगाइएकामा २१ हजार मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।