उपनिर्वाचनमा ३७६ उम्मेदवार, ३ जना निर्विरोध

  • २०८१ मंसिर ६, बिहिबार (५ घण्टा अघि)
  • ४५ पटक पढिएको
उपनिर्वाचनमा ३७६ उम्मेदवार, ३ जना निर्विरोध

काठमाडौं– स्थानीय तहको १६ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ४१ स्थानका विभिन्न पदमा ३७६ जनाको उम्मेदवारी कायम रहेको छ ।

Advertisement

स्थानीय तहका रिक्त ४४ पदका लागि २ मंसिरमा राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र उम्मेदवार गरी ४१० जनाको मनोनयनपत्र दर्ता भएकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । तीनजना निर्विरोध निर्वाचित भएका छन् ।

ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराई र कैलालीमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएका छन् । रुकुम पूर्वस्थित पुथा उत्तरगंगा गाउँपालिका– २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाली कांग्रेस (बिपी), नेपाली जनता दल र आम जनता पार्टी गरी पाँचवटा दलले कुनै ठाउँमा पनि उम्मेदवारी दिएका छैनन् ।

स्थानीय तहमा विभिन्न कारणले रिक्त जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३४ वडाध्यक्ष गरी ४४ पदमा निर्वाचन हुँदै छ । जिल्ला समन्वय समिति प्रमुखमा दुई, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख र उपप्रमुखका लागि ७६ र वडाध्यक्षका लागि ३०१ जनाको उम्मेदवारी परेको छ । निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थानबाहेक ४१ स्थानका विभिन्न पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत ३७६ जनालाई बुधबारै सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको छ ।

१६ मंसिरको बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट