नीलकण्ठ नगरपालिकाको दोस्रो नगर सभाको छैटौं अधिवेशनः तिर्खामुक्त नगरदेखि पिच सडकसम्म

  • २०८१ मंसिर १२, बुधबार (४ घण्टा अघि)
  • ५७ पटक पढिएको
नीलकण्ठ नगरपालिकाको दोस्रो नगर सभाको छैटौं अधिवेशनः तिर्खामुक्त नगरदेखि पिच सडकसम्म

काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिकाको १४ वटै वडामा यहि कार्यकालमा पिच सडक पुर्याउने गरि काम भइ रहेको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले बताए । व्यवस्थित सडक सञ्जाललाई विकासको मूख्य आधारशिला रहेको भन्दै वडा कार्यालयसम्म बाह्रै महिना चल्ने पिचसहितको सडक व्यवस्थित गर्ने बताएका हुन् ।

Advertisement

नीलकण्ठ नगरपालिकाको दोश्रो नगरसभाको छैटौँ अधिवेशनको अवसरमा नगर प्रमुख ढुंगानाले हिउँदे सभामा चार महिनाको अवधिमा भएका निति तथा कार्यक्रमको समिक्षा गर्दै आफ्नै कार्यकालमा पिच सडक पुर्याउने बताएका हुन् । केही वर्ष अघिको सडक सञ्जालको अवस्थालाई तुलना गर्दै विकास निर्माण तथा सडक सञ्जालको क्षेत्रमा भएको विकास उल्लेखनिय रहेको उनले बताए ।

हिउँदे नगरसभामा ढुंगानाले ३३ बुँदामा शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, तथा उद्योग व्यवसायका बारेमा समिक्षा तथा नितिहरु प्रस्तुत गर्दै नीलकण्ठ नगरबासीले चाहे अनुरुपको विकास भएका बताएका हुन् । अधिवेशनकै अवसरमा कृषि विधेयक २०८१ र नगर प्रहरी व्यवस्थापन विधेयक २०८१ पारित गरिएको छ । ‘कक्षा १२ सम्मको निःशुल्क शिक्षाले स्थानीय सरकारको आभाष गराएको छ । शिक्षाको गुणस्तरमा जोड पुगेको छ’ उनले भने–‘ पहेँलो कार्ड भएका अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यबिमा गर्दा नगरपालिकाले ६० प्रतिशत रकम तिरिदिनेछ । एक वडा एक उत्पादन निति अनुसार माटो परिक्षण, तरकारी तथा फलफुल पकेट क्षेत्र, पशुप्रवर्दन कार्यक्रम वडाको पहिचान हुने गरी काम भइरहेको छ ।’

त्यस्तै, एक घर एक धाराको निति अनुसार तिर्खामुक्त नगर बनाउने अभियानमा रहेको उनले बताए । ‘खानेपानीको क्षेत्रमा पनि द्रुत काम भइरहेको छ । छिट्टै खानेपानी आयोजना सम्पन्न गरि तिर्खामुक्त नगर बनाउनेछौं । टोलविकास संस्थाहरुमार्फत सडकबत्ती हालिएको स्थानमा नगरपालिकाले ५० प्रतिशत विद्युत महशुल व्यहोर्दै आएको छ । फोहोर व्यवस्थापन शुल्कमा २०% छुट दिइएको छ । फोहोरमैला व्यवस्थापन नमुना कामको रुपमा कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन थालिएको छ’ उनले भने– ‘नगरपालिकाले नगरबासीको चाहना र हितमा काम गरिरहेको छ । चाहे त्यो विकास निर्माणका काम होस् चाहे अन्य क्षेत्र । हरेक क्षेत्रमा नगरपालिकाले उत्कृष्ट काम गरिरहेको छ ।’

नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले बजेटको समिक्षा गर्दै यस आर्थिक वर्षको चार महिना ११ दिनमा १६ दशमलब ७८ प्रतिशत बजेट खर्च भएको बताएका छन् । गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ७ लाख ९३ हजार २ सय २३ रुपियाँ बजेट विनियोजन गरेकोमा पूँजीगततर्फ ७४ दशमलब ३८ प्रतिशतमात्र बजेट खर्च गरेको थियो ।

यस आर्थिक वर्षका लागि १ अर्ब २२ करोड २३ लाख ९२ हजार ४ सय रुपैयाँ बजेट विनियोजन गरेको नीलकण्ठ नगरपालिकाले मंसिर ११ गतेसम्मको खर्च २० करोड, ६२ लाख ५२ हजार ४ सय २५ रुपियाँ खर्च गरेको हो । आन्तरिक आयतर्फ ६ करोड अनुमान गरेकोमा चार महिनाको अवधिमा २७ दशमलब ७५ प्रतिशत आन्तरिक राजश्व संकलन गर्न सफपल भएको उप–प्रमुख विश्वकर्माले बताए । गत वर्ष पनि ६ करोड आन्तरिक आर्य अनुमान गरेकोमा ४ करोड ९ लाख ८२ हजार ६ सय ७० मात्र आन्तरिक आय भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट