काठमाडौं– साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब २ प्रतिशतले घटेको छ । गत बिहीबार २६८२ अंकमा बन्द भएको बजार सोमबर ५१.५७ अंक (१.९१ प्रतिशत) ले घटेर २६३०.९१ अंकमा झरेको हो ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचकमा १.२३ प्रतिशत (३३.४२ अंक) को गिरावट आएको थियो ।
सोमबार नेप्से परिसूचक मात्रै होइन, कारोबार रकम पनि सीमान्त रूपमा घटेको छ । बिहीबार ६ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार घटेर ५ अर्ब ९३ करोड रुपैयाँको कारोबार भयो ।
सोमबार कारोबारमा आएका उपसूचकमध्ये सबै घटेका छन् । सबैभन्दा उच्च दरले फाइनान्स कम्पनीहरूको उपसूचक ४.४१ प्रतिशतले घटेको छ । त्यस्तै, ट्रेडिङ उपसूचक ३.५५ प्रतिशतले घटेको छ ।
कुल २ सय २७ कम्पनीको सेयर मूल्य घट्दा १५ को भने बढेको छ । सेयर बजारमा उच्च गिरावट आउँदा पनि कुथेली बुखारी साना जलविद्युत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
एक मेगावाट पनि उत्पादन क्षमता नरहेको कम्पनीको सेयरमा कर्नरिङ भइरहेको आशंका गरिए पनि नियामकले यसमा ध्यान दिन सकेको छैन । त्यस्तै जोशी जलविद्युत् कम्पनीको सेयर मूल्य ९.४० प्रतिशतले बढेको छ ।
जानकी फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यो कम्पनीको सेयर मूल्य ९.५८ प्रतिशतले घट्दा नेपाल फाइनान्सको सेयर ७.४५ प्रतिशतले घटेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप