काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको हिमाल तथा पहाडी क्षेत्रमा जडीबुटी तथा औषधीजन्य वनस्पति खाएर हुर्केका पशुपन्छीको मासुको माग विदेशमा बढेको बताएका छन् ।
चीनमा राँगा एवं भैँसीको मासु निर्यात सम्झौता गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मासुको गुणस्तर सुनिश्चित गरी चीनमा माग भएबमोजिम मासु निर्यात गर्न सरकार तयार रहेको बताएका हुन् । मासु उत्पादन हुने स्थानदेखि खपत हुने ठाउँसम्म गुणस्तरीय बनाइनुपर्नेमा उनले जोड दिए ।
“चिनियाँले राँगाको मासुको विभिन्न परिकार मन पराउने भएकाले नेपालबाट निर्यात गरी थप रोजगारी सृजना गर्नुपर्छ, उनले भने,- “नेपाली किसानलाई राँगा, भैँसीपालन गर्न यसबाट थप हौसला बढेको छ, पशुजन्य उत्पादन लक्षित गरी करका बारेमा थप अध्ययन गरिनेछ” ।
प्रविधिमैत्री भएको नयाँ पुस्तालाई पनि यस्ता काममा अघि बढाइने उनले बताए । स्वदेशमै रोजगार सृजना गर्न पशुपन्छी पालन महत्त्वपूर्ण माध्यम बन्न सक्ने मन्त्री अधिकारीको ठम्याई छ ।
हिमालयन फुड इन्टरनेशनल प्रालि नेपाल र साङ्घाइ जि याङ फुड कर्पोरेसन चीनबीच राँगाको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको हो । सुरक्षित रुपमा राँगाको मासु नेपालले चीनलाई उपलब्ध गराउने विषय सम्झौता पत्रमा उल्लेख छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप