रुवीभ्याली अस्पताललाई १२ लाखको स्वास्थ्य उपकरण सहयोग

  • २०८१ पौष ३, बुधबार (७ घण्टा अघि)
  • ७१ पटक पढिएको
रुवीभ्याली अस्पताललाई १२ लाखको स्वास्थ्य उपकरण सहयोग

काठमाडौं– उत्तरी धादिङको विकट क्षेत्रमा पर्ने रुवीभ्याली गाउँपालिका–३ सेर्तुङमा रहेको रुवीभ्याली आधारभुत अस्पताललाई आवश्यक उपकरणहरु उपलब्ध गराइएको छ ।

Advertisement

अस्पतालको सेवा तथा सुविधालाई थप सहज बनाउन हिमालयन हेल्थ केयरले प्रिन्टरसहितको भिडियो एक्सरे मेसिन, सेमी अटोमेटिक एनालाइजर मेसिन, वेवी वार्मर, एक ठाउँबाट अर्काे ठाउँमा बिरामी सार्नका लागि प्रयोग गरिने दुई वटा ट्रलीसहित उपकरणहरु उपलब्ध गराएको हो ।

उपकरणको सुरक्षित प्रयोग गर्न अस्पतालमा कार्यरत चार जना कर्मचारीलाई काठमाण्डौ लगेर आवश्यक तालिम दिएपछि उपकरण सहयोग गरिएको हिमालयन हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणि बस्नेतले बताए । उपकरण खरिद, तालिम र ढुवानी समेत गरी करिब १२ लाख बराबरको खर्च भएको उनले बताए ।

काठमाण्डौबाट तालिम लिएर फर्किएका कर्मचारीमार्फत सेर्तुङ पु¥याइएको सामानहरु गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङ, वडा नम्बर ३ का अध्यक्ष फे दोर्जे तामाङ, अस्पतालका इन्चार्ज जयप्रकाश भट्टलाई सामुहिक रुपमा हस्तान्तरण गरिएको हो ।

हेल्थ केयरले विगत ३२ बर्षदेखि रुवीभ्यालीका स्थानीयको शिक्षा, स्वास्थ्य र आर्थिक उपार्जनको क्षेत्रमा समन्वय तथा सहयोग गर्दै आएको छ । हेल्थ केयरकै सहयोगमा रुवीभ्याली गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालन गर्दै आएको छ । मानव सुचाङ्कमा समेत पछि परेको विकट बस्तीको अस्पतालमा हेल्थ केयरले उपकरण उपलब्ध गराएपछि स्थानीयहरु खुसी भएका छन् । अस्पतालका इन्चार्ज जयप्रकाश भट्टले अस्पतालले प्रवाह गर्ने सेवा थप प्रभावकारी बन्ने बताए ।

घर जलेका पीडित परिवारलाई नगद सहयोग

यसैगरी हिमालयन हेल्थ केयरले मंसिर ३० गते राती आगलागीका कारण घर जलेर विचल्लीमा परेका परिवारलाई नगद सहयोग गरेको छ ।

घर जलेर विचल्लीमा परेका रुवीभ्याली–१ लिङ्जोका मेन्जोम तामाङको परिवारलाई तत्काल आवश्यक गर्ने सामाग्री खरिद गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले नगद नै उपलब्ध गराइएको हेल्थ केयर नेपालका प्रशासकीय अधिकृत कुलमणि बस्नेतले जानकारी दिए ।

आगलागीले घर जलेर नष्ट भएपछि गाउँपालिकाले प्रहरी मुचुल्कासहित पठाएर सहयोग गरिदिन आग्रह गरेअनुसार तत्कालै ५० हजार उपलब्ध गराईएको र वडा अध्यक्ष पम्बर तामाङ मार्फत पीडित परिवारलाई उपलब्ध गराइएको पनि बस्नेतले जानकारी दिए ।

 

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट