काठमाडौं– धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीका स्थानीयलाई दुई दिने कौशी खेती तालिम दिइएको छ । घरको छत प्रयोग गरि ताजा तथा स्वस्थकर तरकारी उत्पादन गर्ने उद्देश्यले तालिम तथा आवश्यक सामाग्री प्रदान गरिएको हो ।
नीलकण्ठ नगरपालिका कृषि शाखाको समन्वयमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ ले धादिङबेसीका स्थानीयलाई कौशी खेती तालिम दिएको हो । विषादीरहित ताजा तरकारी उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको नीलकण्ठ नगरपालिका– ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । ‘यो कार्यक्रम खेतीपाती गर्ने जग्गाजमिन नभएकाहरुका लागि हो । आफ्नै छतमा विषादीरहित स्वस्थकर तरकारी फलाउने र तरकारीमा हुने खर्च न्यूनिकरण गर्ने नै हो । यसले मानिसलाई स्वस्थसँगै तरकारीमा आत्मनिर्भर बनाउन पनि सहयोग पुग्नेछ ।’
तालिममा वडा नम्बर ३ धादिङबेसीका ४४ जना स्थानीयहरु सहभागी रहेका थिए । तालिममा सहभागीहरुलाई तालिम पश्चात कौशी खेतीका लागि आवश्यक सामाग्रीहरु पनि वितरण गरिएको वडा सदस्य सन्तोष थापाले बताए । ‘बजारमा तरकारीको अत्यधिक माग छ । तर अत्यधिक विषादीयुक्त तरकारी मात्रै बजारमा पाइन्छ’ उनले भने– ‘ताज, स्वस्थकर तरकारी तथा फलफुल खाने वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो । कौशी खेती गर्ने तरिका, बालीमा लाग्ने रोग किरा तथा निवारणका उपाय लगायतका विषयमा तालिम सञ्चालन गरिएको हो । तालिम लिएकाले कम्पोष्ट विन, कोकोपिट, ग्रो व्याग लगायत आवश्यक सामाग्री पनि पाएका छन् । आशा छ, धादिङबेसीबासीले आफ्नै छतमा फलाएर तरकारीमा आत्मनिर्भर बन्ने छन् ।’
घरको कोशीमा तरकारी खेती गरेर ताजा तरकारी उत्पादन गर्ने तालिममा सहभागी भएकी सानुमुयौं थापा क्षेत्रीले बताइन् । ‘बजारमा भने जस्तो तरकारी केही पाइदैन । भएका पनि विषादीयुक्त हुन्छन् । महंगो उस्तै छ । कोशी खेती तालिम लिएका छौं । राम्रो उत्पादन भयो भने हामीले जानेका सिप तथा ज्ञान छरछिमेकीलाई पनि सिकाउछौं’ उनले भनिन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप