काठमाडौं- धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका सल्यानटार माध्यामिक विद्यालयका दुई जना विद्यार्थीमाथि हातपात भएको छ । प्रतियोगितामा सहभागी भएका विश्वास श्रेष्ठ र कृष कुमाललाई सुजन श्रेष्ठ र केशव रिजालले खेल मैदानमै हात पात गरेका हुन् ।
स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल मर्मका साथ त्रिपुरासुन्दरी गाउँपालिकाले माघ ११ गतेदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको हो ।
प्रतियोगितमा सहभागी भएका दुई जना विद्यार्थीलाई खेल मैदानमै हातपात गरेको सल्यानटार माध्यामिक विद्यालयका प्रधानाध्यापक ठानप्रसाद बसौलाले बताए । ‘भाला हान्ने खेलका लागि हाम्रा विद्यार्थी खेलाडी मैदानमा थिए । भाँचिएको भाला दिएर खेल्न लगाएपछि विद्यार्थीले भाला परिवर्तन गर्न अनुरोध गरे । तर उनीहरुले मानेन्’ उनले भने– ‘विश्वास र कृष भाला खेलमा सहभागी होइनन् । अन्य खेलमा सहभागी हुन् । तर साथीहरुलाई भाँचिएको भाला दिएपछि विश्वास र कृषले भाँचिएको भाला समाएर देखाए । त्यसपछि भाला किन भाचिस् भनेर हाम्रो विद्यार्थीलाई खेल मैदानमै सुजन श्रेष्ठ र केशव रिजालले घाँटीमा समाएर हातपात गरे ।’
विद्यार्थीलाई हातपात गरेपछि पालिकामा उपाध्यक्ष देवराज धरेललाई ध्यानाकर्षण पत्र बुझाएको प्रधानाध्यापक बस्यौला बताउँछन् । तर विद्यार्थी पिट्ने ठिक गर्यौं भनेर हिड्छन् । पालिका र आयोजक वास्तै गर्दैनन् । उल्टै उनीहरुले खेललाई निरन्तरता दिए । सुरक्षाको अनुभूति नभएपछि प्रतियोगिता छाडेर हामी फर्कियौं’ उनले भने ।
रानीपौवा माध्यामिक विद्यालयमा त्रिपुरासुन्दरी गाउँपालिकाको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भइरहेको छ । विद्यालयको खेल मैदानमै विद्यार्थीमाथि हातपात भएछ नि भन्ने प्रश्नमा रानीपौवा माध्यामिक विद्यालयका प्रधानाध्यापक शशिधर पाठकले भने– ‘सुजन र केशव हाम्रो छिमेकी हुन् । बाहिरका मानिसहरु दर्शक बन्न नपाउने भन्ने छैन । भालाको निउमा सामान्य धकेलाधकेल भएको भन्ने सुनेका हौं । हामीले देखेका होइनौं । हामीले खेल मैदान उपलब्ध गराएका हौं । यो घटना र प्रतियोगिताको सबै जिम्मेवार निकाय पालिका नै हो । ’
प्रधानाध्यापक पाठकले विद्यार्थीलाई हातपात गर्नेहरु छिमेकी र खेल हेर्न आएका दर्शक भनेका छन् ।
ध्यानाकर्षण पत्र बुझेका पालिका उपाध्यक्ष देवराज धरेलले वडा अध्यक्षसँग समन्वय गर्दा समस्या समाधान भएको जानकारी दिएको बताउँछन् । ‘प्रधानाध्यापकसँग पनि कुराकानी गरेको हो । उहाँहरु नखेल्ने भनेर जानुभयो । अध्यक्षलाई सम्बोधन गरिएको पत्र मैले बुझेर शिक्षा शाखामा पठाएको हो । समस्या समाधान भइ सकेको भन्ने बुझेर मैले थप केहि गरिन’ उनले भने ।
पालिकाका शिक्षा अधिकृत चम्पा भट्ट यो विवादको समाधान भइ सकेको बताउँछिन् । ‘दुई पटक भाला हानेर फल भयो । तेस्रो पटक यो भाला हान्दैनौं भनेर भाला खोसेपछि विवाद उत्पन्न भएको हो । दुवै पक्षको गल्ति छ । सहमति भएर गल्ति गर्नेले माफी माग्यो । म विद्यार्थी ल्याउछु भनेर प्रधानाध्यापक जानुभयो । तर विद्यार्थी ल्याउनुभयएन’ उनले भनिन्– ‘सहमतिपछि ध्यानाकर्षण पत्र बुझाउनु भयो । खेलकुल समितिको वैठक बस्यौं । उहाँहरु नआउने भन्नुभयो । खेल सुरु गरियो । अब फेरी उजुरी पर्यो भने छलफल होला नभए यो विवाद टुङ्गिएको हो ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप