काठमाडौं– शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाई हुने भएको छ । आन्दोलमा गएका शिक्षकहरुले उत्तरपुस्तिका परिक्षण गर्न नआएका कारण नजिता प्रकाशनमा पनि ढिलाइए हुने भएको हो ।
परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिकाहरु परीक्षण केन्द्रमा राखिएको छ । तर शिक्षकहरु कपी जाँच्न गएका छैनन् ।
शिक्षक कुरिरहेका छौं । उत्तरपुस्तिका परीक्षण शिक्षकले गर्ने काम हो । अरुले गर्न पनि मिल्दैन’ उनले भने ।
उत्तरपुस्तिकासँग विद्यार्थीको भविष्य जोडिएको बताउँदै उनले शिक्षकहरु छिट्टै कपी जाँच्न आउने विश्वास रहेको बताए । एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश थिए ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको थियो । तर शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा नतिजा प्रकाशन पनि ढिलो हुने भएको छ ।
शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेको छ । विद्यालयमा हड्ताल गरेर शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिँदा सरकारी विद्यालयहरुमा नयाँ भर्ना अभियान रोकिएको छ । वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका सम्पूर्ण शैक्षिक गतिविधि पनि प्रभावित भएको छ ।
मन्त्रिपरिषद बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन सरकारले आग्रह गरेको थियो । तर सरकारबाट पटक–पटक उधारो आश्वासन पाउँदै आएको भन्दै शिक्षक महासंघले भने शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने जनाएको छ ।
#एसईई
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप