लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प

  • २०८१ अषाढ ४, मंगलबार (३ महिना अघि)
  • १२० पटक पढिएको
लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प

काठमाडौं– मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गएको जेठ २६ गतेदेखि अतिव्यस्त विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा पुगेको पर्यटक मर्कामा परेका हुन् ।

Advertisement

अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए । लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको पनि उनले बताए ।

यतिखेर खुम्बुमा पर्यटक याम सकिन लागेकाले लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन् । लुक्लाभन्दा तल करिब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्ने गर्छ । यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडा झरेर त्यहाँबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौं फर्कने गरेका छन् ।

मौसम तत्काल खुल्ने सम्भावना नरहेकाले लुक्लामा हवाई उडान अझै केही दिन अवरुद्ध हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

लुक्लामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रामेछापको मन्थली विमानस्थलबाट उडान हुने गर्दछ । यो विमानस्थल भएर बर्सेनि ६० हजारभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणका लागि पुग्ने गरेको नेपाल नागरिक उड्डयन प्राधिरणको तथ्याङ्क छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट