काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार र आयोगले डामेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले केही दिनदेखि संसदमा एकअर्कालाई दागी देखाउने काम भइरहेको पनि बताए ।
‘विगत केही दिनदेखि यताकोले उता बसेकाको दागी देखाउने, उताकाले यता बसेकोलाई दागी देखाउने दोहोरी चलिरहेको छ,’ थापाले भने, ‘यही पाराले त न संसद राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायाँमा पर्ने भयो।’
उनले अख्तियार र आयोगले डामेका झण्डावाला (मन्त्री) लाई घर पठाउनुपर्ने बताए ।
‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऊँ,’ सांसद थापाले भने ।
केही दिनदेखि संसदमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीको राजीनामा माग भइरहेको छ ।
उनले छानबिनबाट निर्दोष भएकालाई स्वागत गर्ने र दोषी भएकालाई दण्ड दिनुपर्ने बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप