काठमाडौं– विराटनगर महानगरपालिका–४ मा हत्या गरिएको अवस्थामा भेटिएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् ।
नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारीको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो । आइतबार राति उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत भेटिएको प्रहरीले जनाएको छ ।
नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर दासको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन् । उनी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा केही महिनाअघि मात्रै डेरा सरेकी थिइन् । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा शव भेटिएको थियो ।
प्रहरी नायव उपरीक्षक दाहालका अनुसार शिवशंकर र चन्द्रिकाबीच केही वर्ष अघिदेखि प्रेम सम्बन्ध देखिन्छ । तर, शिवशंकरले चन्द्रिकाले धोका दिएको भन्दै हत्या गरेको देखिएको प्रहरीको भनाइ छ । प्रेमीले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप