काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमालेलाई चुनौती दिएका छन् । उनले एमालेले मदन भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई गाली गर्नमात्र जानेको भन्दै झोक्किए ।
नेकपाको हीरक महोत्सवलाई विशेष सम्बोधन गर्दै देउवाले आफू मदन भण्डारीको विषयमा राम्रै कुरा गर्न आएको तर, अहिले बीचमा आएर कांग्रेसलाई एमालेले गाली गरेपछि जवाफ दिनुपरेको बताए ।
“गाली गरेपछि जवाफ त मैले दिनु परिहाल्यो । मदन भण्डारी किन मरे भनेर किन भन्न सक्दैन एमाले? पछि ड्राइभर पनि मारियो । तर मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन?” देउवाले भने, “रहस्यमय ढंगले मारिएको छ, कसले रोकेको छ खोज्नलाई? कांग्रेसले रोक्या हो? आफू खोज्न नसक्ने कांग्रेसलाई गाली गरेर हिँड्ने?”
उनले कांग्रेसको विरोध गर्नजस्तो सजिलो एमाले नेतालाई केहि नभएको बताए । उनले मदन पत्नी विद्यादेवी भण्डारी २ पटकसम्म राष्ट्रपति बन्दा सम्म हत्यारा पत्ता नलागेको भन्दै प्रश्न गरे ।
उनले भने, “कांग्रेसको विरोध गर्न सजिलो होला । तर, आफ्नो कुरा पनि भन्नुप¥यो नि! दुई पटक राष्ट्रपति बन्नुभयो । सबै प्रधानमन्त्री बनिसके खोइ पत्ता लागेको? त्यसैले मलाई गाली गरेर केही हुनेवाला छैन। पत्ता लगाउनुस्।”
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप