काठमाडौं– सरकारको प्रोत्साहनका कारण नेपालमा विद्युतीय गाडीको आयात उच्च भएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि वैशाखसम्म आठ हजार वटाभन्दा धेरै विद्युतीय गाडी भित्रिएका छन् ।
भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म आठ हजार चार सय ९७ वटा विद्युतीय गाडी नेपालमा आएका छन् । विद्युतीय गाडीको आयातमा २१ अर्ब आठ करोड ८० लाख ३९ हजार रुपैयाँ बाहिरिएको छ । यसबाट सरकारलाई नौ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।
वैशाखमा मात्रै एक हजार चार सय वटाभन्दा धेरै विद्युतीय गाडीको आयात भएको विभागले जनाएको छ । गएको वर्ष जम्मा दुई हजार नौ सय ५५ वटा विद्युतीय कार आयात भएका थिए ।
यसैबीच चालू आर्थिक वर्षको १० महिनामा दुई खर्ब ७६ अर्ब सात करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । १० महिनामा एक खर्ब १५ अर्ब ६७ करोडको डिजेल, ५६ अर्ब ८० करोडको पेट्रोल र ४६ अर्ब रुपैयाँको खाना पकाउने ग्यास आयात भएको छ ।
विद्युतीय गाडीको आयात बढ्दा पेट्रोल र डिजेलको खपत घट्ने अनुमान भए पनि गएको वर्षको जत्तिकै परिमाणमा पेट्रोल र डिजेलको आयात भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप