काठमाडौं– चलचित्र ‘पुजार सार्की’आगामी वर्ष २०८१ जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिन रिलिज हुने भएको छ । निर्माण युनिटले दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको छ ।
निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ चलचित्र रिलिज हुने जानकारी दिए ।
सार्वजनिक पोस्टरमा निधारमा रातो टिका लगाएका अभिनेता प्रदीप खड्काले दमाहा बजाइरहेका छन् भने अभिनेताद्वय आर्यन सिग्देल र पल शाह आ–आफ्नो चरित्रमा छन् ।
अर्को पोस्टरमा आर्यनलाई भलाद्मी, पललाई नेतृत्वदायी र प्रदीपलाई केही निर्धो भूमिकामा चित्रण गरिएको छ । पोस्टरले यी तीन पात्र साथी रहेको बुझ्न सकिन्छ । चौतारोमा बसी पलले गफ हाँकिरहेका छन् भने आर्यन र प्रदीपले हँसिलो मुद्रामा सुनिरहेका छन् ।
चलचित्रमा अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा छन् । सार्वजनिक दुवै पोस्टरमा अभिनेत्रीहरू भने छैनन् । अभिनेत्रीहरूको पात्र झल्काउने पोस्टर पुनः सार्वजनिक गर्ने निर्देशक राउतले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप