काठमाडौं– आर्थिक लाभ लिई नाबालिगहरुलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटी गाउँपालिका–१ घर भएकी ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङ रहेकी छन् ।
उनले काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी उक्त क्याफे तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको प्रहरीले जनाएको छ । यससम्बन्धी सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको उनलाई जडिबुटीबाट पक्राउ गरेको हो । साथै व्यूरोबाट खटिएको प्रहरीले दुई जना बालिकाहरूको उद्दार समेत गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाईदिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, शुरूमा वेटरको काममा लगाउने र केही समय पछि ललाई फकाई प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप